काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर हत्याकाण्डमा दोषी देखेर जिल्ला अदालत कैलालीले जेल सजाय दिएका रेशम चौधरीलाई छुटाउने षड्यन्त्र गरिरहेको खुलासा भएको छ ।
काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड आफैंले चौधरीलाई छुटाउने बताएका छन् ।
चौधरी फरार रहेका बेला भारतमा प्रधानमन्त्रीको हैसियतमै र पक्राउ परेपछि पनि डिल्लीबजार जेलमा पुगेर भेटेको प्रचण्डले खुलासा गरेका छन् ।
‘सभामुख, सरकार र पार्टीलाई भनेर कम्तिमा रेशमलाई शपथ गराउनुपर्छ र उनलाई माननीयको दर्जा दिलाउनुपर्छ भनेर भूमिका खेल्ने पनि म हुँ भन्ने नबिर्सनुहोला,’ उनले अर्काे षड्यन्त्रको खुलासा समेत आफैं गरे । प्रचण्डले पूर्व एमालेसँग एकीकरण गरेपछि अहिले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई प्रभावित गर्न सक्छन् ।
सरकार र पार्टीमा टीकापुर घटनाका झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर बहस गरिरहेको प्रचण्डले दाबी गरे । ‘केही साथीहरू छुटेका छन् । रेशम लगायतका साथीहरू छुट्न बाँकी छ । छुटाइन्छ, हेर्नुहोला केही समयभित्र परिणम निस्किन्छ,’ उनले भने ।
माओवादी आन्दोलनमा लागेका, आफूसँगै भएका थुप्रै मानिस अहिले पनि जेलमा रहेको बताउँदै उनले भने, ‘हिजो जनयुद्धमा संलग्न पहाडिया बाहुन क्षेत्री नै जेलमा छन् । हिजो सेनाबाट आएर जनयुद्धमा आएकालाई पनि जेल हालिएको छ । उनीहरूलाई पनि छुटाउन मेरो आन्दोलन जारी छ ।’
प्रचण्डले भने, ‘आन्दोलनमा विश्राम लिएका छौं, चौतारीमा सुस्केरा मारिरहेका छौं । तर हामी आन्दोलनमा नै छौं ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।