मंगलवार, पौष २९ २०७६
काठमाडौं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले आफूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मान्छेबाट ज्यान मार्ने धम्की आएको बताएका छन्। सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा जीवनराम भण्डारीसँग कुरा गर्दै रावलले एमसिसी सम्झौताको विरोध गर्दा र राष्ट्र हितको कुरा उठाउँदा बेलायती युवाराज्ञी लेडी डायनाको जस्तो हालत हुने धम्की आएको बताए।
उपप्रधान तथा गृहमन्त्री भइसकेका रावलले सार्वजनिक रूपमा त्यो पनि बालुवाटारबाट ज्यान मार्ने धम्की आएको बताएपछि विभिन्न किसिमका टिकाटिप्पणी भइरहेको छ । उनलाई कसले यस्तो धम्की दियो त भन्ने कुरामा विभिन्न अडकलबाजी गरिएको छ।
रावलले उल्लेख गरेको लेडी डायनाको प्रसंग र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले केहीदिनअघि लेखेको फेसबुक स्टाटस हेर्दा यो प्रकरणको तस्बिर केही हदसम्म प्रष्ट देखिन्छ। रावलले भनेका छन्, ‘मैले यो कुरा गर्दा तपाईंले अघि अलिकति छुनु भएको थियो। मलाई मेरो ज्यानको समेत धम्की दिइएको छ। बालुवाटारमा बस्ने व्यक्तिबाट। लेडी डायनाले जसरी ज्यान गुमाउनु पर्यो तिमीले पनि ज्यान गुमाउला भनेर बालुवाटारसँग सम्बद्ध व्यक्तिबाट मलाई धम्की दिइएको छ। यो बिडम्बना हो तर त्यस्तो भन्ने व्यक्तिहरूले के कुरा पनि सम्झनुपर्छ भने पुष्पलालको मृत्यु भएर नेपालको कम्युनिष्ट आन्दोलन र देशभक्तिपूर्ण आवाजहरू हराएर गएनन् भन्ने कुरा स्मरण गर्नुपर्छ। मदन भण्डारीलाई गाडी दुर्घटनाको अनेक नाटक मञ्चन गरेर दासढुंगामा हत्या गरेर मदन भण्डारीका देशभक्त पूर्ण आवाज नेपाली धर्तीबाट मेटिएका छैनन् भन्ने कुरा मलाई जीवनको धम्की दिनेहरूले राम्ररी स्मरण गर्नुपर्छ।
म त्यसबारे डराउन्न। म प्रत्येक व्यक्तिलाई के कुराको पनि स्मरण गराउन चाहन्छु भने यो धर्तीमा कोही व्यक्ति पनि अजर अमर छैन भन्ने कुराको पनि प्रत्येक व्यक्तिले हेक्का राख्नुपर्छ। यहाँ खोलिने राजनीतिक दल, हामी राजनीतिक दलका सदस्य, प्रतिनिधि सभाका सदस्यहरू माध्यममात्र हौं। नेपाल जो हाम्री आमाभन्दा पनि ठूली छन्। ठूली ठान्छौं हामी योमात्रै धेरै लामो कालसम्म अस्तित्वमा रहन सक्छ।’ रावलले उक्त अन्तर्वार्तामा उल्लेख गरेको लेडी डायनाको प्रसंग केही दिनअघि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुक स्टाटसमा भेटिन्छ।
मंसिर र पुसमा गरी एक साता बसेको नेकपा स्थायी कमिटीको बैठकका बेला रावल र थापाको विवादको श्रृंखला सुरू भएको थियो। स्थायी कमिटी बैठकका निर्णय प्रवक्ता भन्नुपर्नेमा रावलले सार्वजनिक गरेको भन्दै थापाले आपत्ती जनाएका थिए। विवाद बढ्दै जाँदा रावलले आफू जेलमा हुँदा सूर्य थापा भर्खरको बच्चा भएको प्रसंग सामाजिक सञ्जालमा लेखेका थिए। यो शिलशिला जारी थियो।
पुस १४ गते राति बजे रावलका दुई कविताको फोटो राख्दै स्टाटस लेखेका थिए।
उनको स्टाटस यस्तो थियोः
कमरेड,
‘राष्ट्रवाद’को बहसमा बुझेर नै उत्रिनुभएको हो त ?
पार्टीले तपाईंका कविताबमोजिम चलिदिनुपर्ने कि कसो होरु यी दुई कविताको ‘पुरानो’ र ‘नयाँ कवि’ तपाईं नै हो भन्ने विश्वास नलागेर नै सार्वजनिक खपतका लागि यहाँ दुबै कविता प्रस्तुतसम्म गरिएको जानकारी अनुरोध छ।
म पूरानो लिम्पियाधुरा लेख्ने कविको हिमायती हुँ। तर स्थायी कमिटीमा सुनाएर सार्वजनिक गरिएको कविता भने तथ्यको भ्रष्टीकरण, भ्रमको पुलिन्दा र आत्मनिन्दा एवं भत्सर्नाको मजाकपूर्ण दृष्टान्तबाहेक अरू केही होइन र हुन पनि सक्दैन। तपाईंका यताका अन्तर्वार्ता, प्रस्तुति र यावत पक्षले क्रमशस् पापराजीको फन्दामा उहिले डायना परेजस्तोरवा आज तपाईं परिरहेको अनुभव भइरहेको छ। यो नबुझेर वा नजानेर त पक्कै गर्नुभएको होइन होलारु एक्लो ‘बृहस्पति’ बन्न नखोज्नु नै हितकर हुन्छ होला !
तपाइको आजको बोली, धारणा र अभिव्यक्ति नेकपाको संस्थागत निर्णय, धारणा र निर्देशन कदापि होइन र मान्न सकिँदैन। कमसेकम आफूले टेकेको धर्ती र आफ्नो टाउकोले खामेको आकाशमात्रै थाम्न खोज्नु उचित होला कि ! विषयको संवेदनशीलता र गम्भीरता बिर्सेर फर्किने ठाउँ नै नराखी आफू अनुकूल अपव्याख्या गरेर बहकिनु उचित होइन। आगे कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्दि !
तपाईंकै
‘सहप्रवक्ता’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।