काठमाडौं– केही समय यता सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सभामुख पदले भाँडभैलो मच्चिरहेको छ ।
तत्कालिन सभामुख कृष्णबहादुर महरा यौन काण्डमा मुछिएर जेल पुगेपछि नयाँ सभामुख चयनका लागि नेकपाभित्र विवाद देखिएको छ । पुस ४ गते प्रतिनिधी सभाको हिँउदे अधिवेशन सुरु भएको छ । तर, अधिवेशन सुरु भएको महिना वित्न लाग्दा समेत नेकपाले सभामुख छनौट गर्न सकेको छैन ।
उपसभामुख डा. शिवमाया तुम्बहाम्फेलाई राजिनामा गर्न लगाउने र नयाँ सभामुख चयन गर्ने नेकपाको तयारी छ । तर, तुम्बहाम्फेले राजिनामा दिन मानेकी छैनन् । शनिवार मात्रै नेकपाको सचिवालय बैठकले उनलाई राजिनामा दिन निर्देशन दिएको थियो । तर, उनले आफुलाई कुनै निर्देशन नआएको र राजिनामा नदिने बताएकी छन् । उनले आज (आइतबार) बस्ने प्रतिनिधीसभाको बैठक आफैंले सञ्चालन गर्ने समेत बताएकी छन् ।
के हो कारण ?
लामो समय सभामुख चयन हुन नसक्नुमा नेकपा भित्रकै गुटको लडाइँ प्रमुख कारण हो । यसअघि सभामुख पूर्व माओवादीले पाएको थियो । अहिले पनि पूर्व माओवादीले सभामुख आफुहरुले नै पाउनुपर्ने बताइरहेका छन् । सोही अनुरुप पूर्व माओवादी समुहले अग्नी सापकोटालाई सभामुखका लागि अघि सारेको छ ।
तर, पूर्व एमाले समुह भने कुनै हालतमा पूर्व माओवादीलाई सभामुख पद दिन तयार छैन । त्यसका लागि उपसभामुखलाई प्रयोग गरिएको छ । पूर्व माओवादी समुह नगलुनजेल राजिनामा नदिन पूर्व एमाले समुहले नै शिवमायालाई सुझाएको स्रोत बताउँछ । ‘जबसम्म पूर्व माओवादी सुवासचन्द्र नेम्बाङ वा हालकै उपसभामुखको नाममा सहमत हुँदैन, तबसम्म राजिनामा नदिन शिवमायालाई भनिएको जस्तो देखिन्छ,’ एक नेताले भने ।
यति मात्रै होइन्, सभामुख पदमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा अध्यक्ष प्रचण्डबीच टकराव समेत देखिएको छ ।
तुम्बाहाम्फे लाइ सभामुख र युवराज खतिवडा लाइ फेरि ६ वर्षको मनोनयन गर्ने कुरामा राष्ट्रपति अडिग रहेको बुझिएको छ ।
तर, प्रचण्ड सभामुख आफ्नो समुहले पाउनुपर्ने अडानमा छन् । ‘राष्ट्रपति र प्रचण्डबीचको टकराव हो, कसले जित्छ समयसँगै थाहा होला,’ ती नेताले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।