काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता, केन्द्रीय सदस्य तथा सांसद गगन कुमार थापाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको षड्यन्त्रविरुद्ध गरेको घोषणाले कम्युनिस्टलाई धक्का पुगेको छ ।
प्रस्तावित सूचना प्रविधि विधेयकको विरोधमा नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा आयोजना गरेको विरोध सभामा बोल्दै नेता थापाले कम्युनिस्ट सरकारले नेकपाकै नेताहरू भीम रावल र रामकुमारी झाक्रीलाई नै थुन्नसक्ने घोषणा गरे ।
सरकार नागरिकको मुख थुन्न लागेको सांसद थापाले बताए । कम्युनिस्ट सरकार नागरिकको वाक स्वतन्त्रता कुण्ठित गर्न लागिपरेको थापाको आरोप छ ।
‘कम्युनिस्ट सरकारका विधेयकहरू नागरिकको अधिकार खोस्ने गरी आइरहेका छन् । विधेयक यसरी आउनुको पछाडि प्रधानमन्त्री बलियो भएर होइन लुते भए हो,’ उनले भने, ‘प्रधानमन्त्रीले काम गरेर जवाफ दिने हिम्मत गर्नुभएन, सामाजिक सञ्जालमा आफूमाथि हुने टिप्पणीलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोज्नुभयो ।’ सांसद थापाले प्रधानमन्त्री ओलीलाई लुते घोषणा समेत गरे ।
सूचना प्रविधि विधेयक अहिलेको अवस्थामा पारित भए सरकारका अरिंगालबाहेक कोही बाँकी नरहने थापाले बताएका छन् । ‘विधेयक जस्ताको तस्तै पारित भए सरकारका अरिंगालबाहेक कोही बाँकी रहँदैनन् । नेकपा र अखिलका साथीहरूले बुझे हुन्छ – भीम रावल र रामकुमारी झाँक्री पनि पक्राउ पर्छन्,’ सांसद थापाले भने, ‘यहाँ श्री ६ बडामहारानी विद्या भण्डारीको जय, श्री ५ प्रधानमन्त्री केपी ओलीको जय, श्री ३ प्रचण्डको जय भन्नेहरू टिक्छन् । अरु सबै सकिन्छन् ।’
सांसद थापाले सूचना प्रविधि विधेयकमाथि सडकदेखि सदनसम्म छलफल गर्न तयार रहेको बताएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विधेयक नपढी टिप्पणी गरिएको भनेकोप्रति थापाले भने, ‘मन्त्रीज्यूलाई भन्न चाहन्छु छलफल गर्ने हो ? माइतीघरमा गर्ने हो ? बालुवाटारका गर्ने हो ? कि धुम्बाराहीमा गर्ने हो ? म यस विधेयकमा दफादफामा छलफल गर्न तयार छु । नपढी आयो भनेर हामीलाई हेप्नी ?’
कम्युनिस्ट सरकारले ल्याउन लागेको निरंकुश कानुनलाई परास्त गर्न जनताको साथ चाहिने भन्दै सहयोगका लागि सांसद थापाले आह्वान गरे । ‘संसदमा संख्यात्मक हिसाबले हामी कम छौं, हामीले मात्र चाहेर रोक्न सक्दैनौं । अंकगणित उनीहरूको छ, बहुमतले पारित गर्न सक्छन्, सडकको साथ चाहियो,’ सांसद थापाले भने, ‘हिजो गूठी विधेयकमा काठमाडौंबासीको सडकको साथले सरकार झुक्न बाध्य भएको थियो । फेरि पनि काठमाडौंबासीको साथ चाहिन्छ ।’
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले नागरिकको अधिकार रक्षाका लागि संसदमा सडकको साथ आवश्यक रहेको बताएका छन् । ‘यस विधेयकका विरुद्धमा बोल्न संसदमा गगनहरू हुनुहन्छ । उहाँहरूको विरोधले मात्रै विधेयक रोकिँदैन । त्यसका लागि सडकको तागत आवश्यक छ,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।