काठमाडौं- पछिल्लो समय नेपाली कांग्रेसभित्रको द्वन्द्वले नेपाली राजनीतिमा तरंग पैदा गरेको छ । पार्टीभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको मनोवैज्ञानिक युद्धको चपेटामा पार्टी परेको अवस्था छ ।
नेपाली कांग्रेसको पूर्ण बैठक मंसिर अन्तिम सातादेखि बस्न सकेको छैन । वरिष्ठ नेता पौडेल पक्षले १४ औं महाधिवेशनको कार्यतालिका माग गरेका थिए ।
पुस ११ गते सभापति देउवा पक्षका केन्द्रीय समिति सदस्यहरुको बैठकले बहुमतका आधारमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो । तर, फेरि पौडेल पक्षले एकल रुपमा निर्णय गरेको भन्दै आपत्ति जनाएको छ । यससँगै विभाग गठनको विषयमा पनि पौडेल पक्षको आपत्ति छ ।
मुलुकलाई बलियो प्रतिपक्षीको आवश्यक भइरहेका बेला कांग्रेस आन्तरिक विवादका कारण अनिर्णय बन्दी बन्नु हुँदैन भन्ने उद्देश्यले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका युवा नेता एनपी साउँदको पहलमा दुबैलाई मिलाएर पार्टी अघि बढाउनका लागि मध्यस्थताको काम गरिरहेका छन् ।
नेता साउँदले भने, "हामी पार्टीका केही युवा साथीहरूले पार्टीको छवी धुमिल हुन नदिन र आन्तरिक समस्या समाधान गर्न पार्टी सभापति र वरिष्ठ नेतालाई भेट्यौं। सभापतिज्यूसँग भेट्दा उहाँ धेरै विषयमा खुलस्त भएको हामीले पायौं । १४ महाधिवेशन अब थपिएको समयमै हुनुपर्छ भन्नेमा उहाँ दृढ हुनुहुन्छ ।
केही साथीहरूले बैठक बहिष्कार गरेको अवस्था र पार्टीले गरेको निर्णयमा केही सच्याउनुपर्ने भएमा पनि सभापति तयार हुनुहुन्छ ।
वरिष्ठ नेता पनि सकारात्मक नै भएको पाइएको उनले बताए । उनले भने, "उहाँहरूबीच मनोवैज्ञानिक द्वन्द्व देखिन्थ्यो। उहाँहरूलाई मिलाउनेभन्दा पनि विभिन्न नाममा विवाद बल्झाउने अवस्था आउनुमा दुई नेताबीच संवादको कमी भएको हामीले महसुस गर्यौं ।
त्यसकारण दुबै नेताबीच संवादको वातावरण मिलाउन र अहिलेको पार्टी विवाद समाधानका लागि पहल गर्नुपर्छ भन्ने निष्कर्षका साथ लागिपरेका हौं । एकपटक सभापति आफैं वरिष्ठ नेताको घरमा पुगेर संवाद थाल्नुभएको थियो।
अब फेरि उहाँलाई घरमै बोलाएर छलफल गर्दा प्रभावकारी हुन्छ । सभापति, वरिष्ठ नेता र आवश्यक परे कृष्णप्रसाद सिटौलाजी तीनैजना बसेर संवाद गर्नुपर्छ । नभए वार्ता समितिका संयोजकलाई पनि सँगै राखेर संवाद गर्नुपर्छ । शीर्ष तहमा संवादहीनताको अवस्था तोड्नुपर्छ ।"
पार्टीभित्रको अहिलेको विवाद समाधानका लागि पार्टी सभापतिले उदारता देखाउनुपर्नेमा उनको जोड छ । उनले भने, "उहाँहरूले पनि प्रक्रियामा सहभागी भएर सहमतिका लागि सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ। पार्टीभित्र सहभागिता र हिस्सेदारी पार्टीको पद्धतिभित्रै खोज्नुपर्छ। पार्टी बैठक बहिष्कार गर्ने र छुट्टाछुट्टै भेला गर्ने विषयले समस्याको समाधान दिन सक्दैन ।"
उनले सरकारले ल्याएका पछिल्ला विधेयक र केन्द्रदेखि स्थानीय तहसम्म कानुन निर्माण गर्ने कुरा निरंकुश शैली अपनाइरहेकोप्रति उनले आक्रोश व्यक्त गरे । उनले भने, "सरकार कम्युनिस्ट पार्टीको भए पनि शासन कम्युनिस्ट हुनु हुँदैन ।
तर, यहाँ त कम्युनिस्ट शासन शैलीकै रुपमा जनताको बोल्न पाउने अधिकारमाथि नै बन्देज लगाउने, सिरानीमा भएको फोन ट्याप गर्ने, श्रीमान-श्रीमतीबीचको टेलिफोन सुन्ने, फेसबुकमा लेखेकै आधारमा पाँच वर्ष जेल र १५ लाख जरीवाना गराउनेजस्ता प्रावधानहरुले नेपाली समाजलाई फेरि अध्याँरोतर्फ धकेल्ने अभियानमा सरकार लागेको छ ।"
उनले सरकारका यस्ता गलत क्रियाकलापविरुद्ध अब नेपाली कांग्रेसले देशव्यापी विरोध र कानुन निर्माणका विषयमा बहस चलाउनुपर्ने पनि उनले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।