काठमाडौं - विवादको अर्को नाम नेपाली कांग्रेस । ताकतको प्रयोग गरी पेलेरै नियमकानुन नमान्ने नामचाहिँ शेरबहादुर देउवा भन्न थालिएको छ ।
हालै शेरबहादुर देउवाले सभापति पदको भिटो प्रयोग गरेर बहुमतका आधारमा विभिन्न निर्णय गरेपछि नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, महामन्त्री डा. शाशंक कोइराला र परिवार, प्रकाशमान सिंहलगायतका नेताको पारो तातेको थियो । देउवाका निर्णय अवैधानिक भएको भन्दै यसरी पार्टी चल्न नसक्ने प्रतिक्रिया मात्र आएनन् देउवाको काँधमा कांग्रेसको भारी राख्न नहुनेसम्मका तर्क आए ।
तर देउवाले भने आफ्ना निर्णय नै सही र बैधानिकमात्र होइन, लोकतान्त्रिक पद्दतीको भएको दाबी गर्दै आएका छन् । कसैले भन्दैमा निर्णय नसच्चिने, भएको निर्णय मान्नुपर्ने दाबी पनि देउवाले गरिरहेका छन् ।
देउवाको यो अडानलाई चिर्न पौडेलले उनलाई आफ्नो शक्ति देखाइदिन जिल्ला सभापतिको भेला नै डाके, केन्द्रीय कार्यालय सानेपामा । ७७ जिल्ला मध्येका ४० जना त पौडेलको निम्तोमा पार्टी कार्यालयमा हाजिर भएर अब अभियान नै गर्ने पक्षमा सहमत भएको दाबी गरिन्छ ।
त्यसो त देउवा तानाशाही प्रवित्तिमा अघि बढेको आरोप लगाउने पनि कम छैनन् । उनले मनलाग्दी निर्णय गरेका कारण सबै मान्नुपर्छ भन्ने नरहेको कांग्रेसीजन नै बताउँछन् ।
केन्द्रीय समितिको बैठकमा पौडेल समूहको उपस्थिति नहुँदा नहुँदै विभिन्न महत्वपूर्ण निर्णय गरिएको र त्यहि लागू हुने अठोट देउवाले देखाएपछि तानाशाही प्रवित्ति नमान्ने घोषणा पौडेल र उनी पक्षधरका जिल्ला सभापतिले पनि गरिसकेका छन् ।
महासमितिमा अल्पमतमा रहे पनि केन्द्रीय समितिमा बहुमतमा रहेका देउवाले प्रजातान्त्रिक प्रणालीको हवाला दिँदै आफूखुसी निर्णय गराउनुलाई कतिपय कार्यकर्ताले पनि रुचाएका छैनन् ।
मध्य धारमा देखिएका तर १३ औं महाधिवेशनको दोस्रो राउन्डमा सभापतिका लागि देउवालाई सहयोग गरेका कृष्णप्रसाद सिटौलाले पत्र लेखेरै सहमतिका आधारमा पार्टीका राजनीतिक निर्णय लिनका लागि सुझाव दिएका थिए । त्यसैले सिटौला पनि पौडेलेको ‘ग्रुपिजम’ अभियानमा सहयोगी बनेको अदृश्य शक्ति सानेपामा सोमबार देखिएको थियो । सिटौला आफैं भने सहभागी भएनन् तर उनी पक्षीय केन्द्रीय सदस्यहरू भने उपस्थित भएको प्रस्टै देखियो ।
देउवाले गत पुस ११ गते बहुमतका अधारमा १४ औं महाधिवेशन कार्यतालिका ल्याएको, विधान मिचेर विभाग थपेको भन्दै पौडेल र सिटौला रूष्ट छन् ।
मंसिर २६ देखि पौडेल केन्द्रीय समिति बैठकमा पनि गएका छैनन् । सभापति देउवाले केन्द्रीय समितिबाट एकलौटी रूपमा गरेको निर्णय सच्याउन पौडेल, महामन्त्री शशांक कोइराला र छुट्टै गुट चलाइरहेका सिटौलाले माग गर्दै आएका छन् । भेलामा पौडेल समूहका केन्द्रीय सदस्य सहभागी थिए ।सभापति देउवा समूहका जिल्ला सभापति भने भेलामा सहभागी भएका थिएनन् ।
भेला भएका सभापतिले बुढानिलकण्ठबाट पार्टीमा मनलाग्दी निर्णय गर्न नमिल्ने बताउँदै यस्तो जंगबहादुर शैलीको शासनमा कांग्रेस रहन नसक्ने सुझाव दिएका थिए । ‘कांग्रेसले लोकतान्त्रिक मान्यता र स्वतन्त्रताको वकालत गर्छ, हामी पनि प्रचण्ड र ओली जस्ता भयौं, हाम्रो नेतृत्व त्यस्तो भयो भने कसरी कांग्रेस रहन्छ ?’, सभापतिले प्रश्न गरेका थिए ।
त्यसो त पार्टीभित्र देउवाको आलोचना आजका दिनमा मात्र भएको होइन । सरकार चलाउँदा होस् या विभिन्न नियुक्ति, चुनावमा सहकार्यको अवस्थासम्ममा देउवाको मनोपोली चलेका कारण कांग्रेस पतनको बाटोमा हिँडेको उनीहरूको आरोप थियो । देउवा पक्षले भने यो आरोपलाई अस्वीकार गर्दै आइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।