काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेताहरूले अमेरिकी सहयोगको एमसीसी परियोजनालाई संसदबाट पारित गराउने तयारी गरिरहेका बेला नेकपाभित्र खुला विद्रोह सुरू भएको छ ।
सत्तारुढ नेकपा नेता नारायण शर्माको नेतृत्वको एक समूहले एमसीसी खारेज अभियान सुरू गरेको छ भने वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल लगायतका नेताले पार्टीभित्रै खुलेरै संघर्ष गरिरहेका छन् ।
एमसीसी सम्झौता घातक, असंलग्न परराष्ट्र नीति विपरीत र चीनसँगको मित्रतालाई पनि बिथोल्ने गरी आएकाले संसदबाट अनुमोदन गर्न नहुने नेता शर्माले बताए ।
‘पार्टीको स्थायी कमिटीले नै इण्डो प्यासिफिक रणनीतिको अंग हो भने एमसीसी सम्झौता पास नगर्ने सहमति गरेको छ,’ शर्माले भने, ‘अमेरिकी दूतावासले एमसीसी प्यासिफिक रणनीतिको अंग हो भनिसक्यो । अझ पनि नेताहरूले जसरी पनि पास हुन्छ भुन्नुहुन्छ भने हामीले खारेज गर्नुपर्छ भनेर किन भन्न नहुने ?’
प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसी संसदबाट पास हुने बताएपछि उनीहरूविरुद्ध विद्रोह गर्दै नेकपाकै नेताहरू सडकमा उत्रिन थालेका छन् । ‘नेताहरू झुक्छन् कि खुट्टा कमाउँछन् कि भनेर खबरदारी गर्न खोजेका हौं,’ शर्माले भने ।
पहिलो चरणमा एमसीसी सम्झौता अनुमोदन नगर्न सुझाव दिइने र त्यसपछि दबाबमूलक कार्यक्रम समेत गरिने उनले बताए । अभियानको पहिलो कार्यक्रम पुस २६ गते गर्ने तयारी रहेको छ, जसमा एमसीसी सम्झौताबारे अन्तर्क्रिया हुने शर्माले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।