काठमाडौं – स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई विजयी भएर वडाध्यक्ष बनेका दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष महादेवसिंह डडाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेपछि उनको पद चट् भएको छ ।
निर्वाचित गराउने पार्टीलाई छाडेर कम्युनिस्ट पार्टीमा गएपछि निर्वाचन आयोगले उनलाई सजाय गर्दै वडाध्यक्षबाट पदमुक्त गरेको हो । निर्वाचन आयोगले डडाललाई पदमुक्त गरिदिएको छ ।
आफू पदमै कायम रहने घमण्डका साथ डडालले कांग्रेस छाडेर नेकपामा प्रवेश गरेको भएपनि उनलाई निर्वाचन आयोगले सजाय गरेको हो । डडाल गत मंसिर ११ गते नेकपा प्रवेश गरेका थिए ।
राजनीतिक दल सम्बन्धी ऐन र स्थानीय तह निर्वाचन सम्बन्धी ऐनमा फरक व्यवस्था भएको भन्दै स्थानीय जनप्रतिनिधिले पार्टी छाडेमा वा पार्टीले कारबाही गरेमा पद रहने वा नरहन भन्ने अन्योल रहेपनि निर्वाचन आयोगले यसबारे स्पष्ट पारेको छ ।
निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७४ अनुरुप संघ, प्रदेश र स्थानीय तह जुनसुकै जनप्रतिनिधिले पनि दल त्याग गरेमा वा सम्बन्धित दलले प्रक्रिया पूरा गरी कारवाही गरेको आधिकारिक जानकारी गराएमा पद रिक्त हुने जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले संघ र प्रदेशका जनप्रतिनिधिलाई दलीय अनुशासन लाग्ने तर स्थानीय तहका जनप्रतिनिधिलाई नलाग्ने भन्ने खालको अन्योल कतिपयमा देखिएपनि सबै तहका जनप्रतिनिधिलाई ऐन लाग्ने बताएका छन् । उनले निर्वाचित भएको दल त्यागेमा वा दलले प्रक्रिया पूरा गरी कारवाही गरेर आयोगमा जानकारी दिएमा निर्वाचित भएको पद पनि रिक्त हुने बताए ।
निर्वाचन आयोगले वडा सदस्यदेखि गाउँपालिका र नगरपालिकाका प्रमुख उपप्रमुखसम्मलाई राजनीतिक दल सम्बन्धी नियमावली २०७४ लागू हुने जनाएको छ । नियमावलीमा कुनै जनप्रतिनिधिले दल त्याग गरेमा वा दलले कारवाही गरेमा प्रक्रियासम्मत ढंगले आयोगलाई जानकारी दिनुपर्ने उल्लेख गरिएको छ ।
‘कुनै दलको तर्फबाट स्थानीय तहको कुनै पदमा उम्मेदवार भइ निर्वा्चित भएको सदस्यले दल त्याग हुने कार्य गरेमा सो दलको केन्द्रीय समितिले निर्णय गरि निजले दल त्याग गरेको व्यहोराको जानकारी आयोगलाई गराउनुपर्नेछ,’ नियमावलीमा उल्लेख छ, ‘सम्बन्धित दलले निर्णयको प्रतिलिपि सहित आयोगमा पेश गरेपछि आयोगले राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गर्ने र सो सूचना प्रकाशित भएपछि स्थानीय तहको जनप्रतिनिधिको पद स्वतः रिक्त हुनेछ ।’
स्थानीय तहको कुनै पनि जनप्रतिनिधिले अर्को दलको सदस्यता लिएमा, आफू संलग्न भइ अर्को दल खोलेमा वा सम्बन्धित दलले निष्कासन गरेमा दल त्याग गरेको मानिने नियमावलीमा उल्लेख छ । निष्कासन गर्नुअघि सम्बन्धित दलको केन्द्रीय समितिले सफाइ पेश गर्ने मौका दिनुपर्ने व्यवस्था रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।