सोमवार, पौष १४ २०७६
काठमाडौं– सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटा मालैमालाले पुरिएको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको छ।
शनिबारदेखि सञ्चार मन्त्री बाँस्कोटाको चर्चा सामाजिक सञ्जालमा फेरि चुलिएको छ। बाँस्कोटाको गृहजिल्ला काभ्रेको रोशी गाउँपालिकाङ १ मा बनेको विद्यालय भवन उदघाटन गर्न पुगेका उनलाई स्थानीयले भव्य स्वागत गरे। स्वागतमा बाँस्कोटालाई माला पहिर्याइदिए। माला उनका गलामा मात्रै अटेनन् आँखासम्म छोप्न आए।
मालाले एउटा आँखा नै छोपेपछि मन्त्री बाँस्कोटालाई हिँड्न अप्ठेरो भयो। सुरक्षा गार्डले उनलाई हात समातेर डोर्याए।
सोही कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले १० वर्षपछि नेपालीको प्रतिव्यक्ति वार्षिक आय साढे १२ हजार अमेरिकी डलर पुग्ने दाबी गरे। तर, उनको यही तस्बिर नै शनिबारदेखि सामाजिक सञ्जालमा हाँसो र आलोचनाको विषय बनेको हो।
कसले के भनेका छन् ?
पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले ट्विटरमा भनेका छन्, ‘कठैबरा, कस्तो रहर, यस्तो प्रवृत्तिबाट के सिक्ने र कस्तो आशा गर्ने ?’
पत्रकार गजेन्द्र बुढाथोकीले व्यंगपूर्ण रुपमा कविता नै बनाएर ट्विट गरेका छन्। उनले भनेका छन्, ‘धरोधर्म नेपाल बन्दैन यही चालाले, कुन दिन नेता पुरिएरै मर्छन् मालाले ।’
पत्रकार कनकमणि दीक्षितले ट्विट गर्दै ‘ठम्याउनै सकिएन, त्यो मालाको रासभित्र लुक्न पुगेको मनुवा हो चाइँ को ?’ भनेका छन्।
नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले बाँस्कोटा र सुकुल ओडेर सुतेका बालबालिकाको तस्विर पोस्ट गर्दै भनेका छन्, ‘नेपाली नेताहरुको मनोदशा र गरीब जनताको दुर्दशा । यी दुइवटा तस्विर आफै वोल्छ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।