आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली सरकारविरुद्ध गाउँगाउँबाट उठ्यो विप्लव नेकपा, जनकारवाहीको चेतावनी

ओली सरकारविरुद्ध गाउँगाउँबाट उठ्यो विप्लव नेकपा, जनकारवाहीको चेतावनी

  • सोमवार, पौष १४ २०७६

  • 5.3K
    SHARES

  • कालिकोट – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गाँउगाँउमा सरकारविरुद्ध जनमत बटुल्ने अभियान थालेको छ । नेकपा कालिकोटले पार्टीको केन्द्रीय सांस्कृतिक टोली सामना परिवार र भेरी कर्णालीको सांस्कृतिक टोली कालिकोटसँग मिलेर कार्यक्रम गरेको हो । नेकपाले जिल्लाका ९ वटा स्थानीय तहलाई अस्वीकार गरेको छ । पुराना साविकका ३० गाविसलाई आधार मानी कर्णाली नदी आसपास १७ वटा गाविसमा जिल्ला इन्चार्ज कर्णबहादुर भण्डारी बिराड र तिला नदी आसपासका क्षेत्रका १३ वटा गाविसमा जिल्ला सेक्रेटरी मनीलाल ऐडी रणदीपको नेतृत्वमा सरकारविरुद्ध जनमत बटुल्ने अभियान थालेको हो । अभियानमा नेकपाका जिल्ला स्तरका नेता, विभिन्न संघ संगठनका नेता तथा सांस्कृतिक टोली पनि सहभागी थिए । पार्टीको एकीकृत जनक्रान्ति जनतालाई बुझाउन र क्रान्तिका लागि जनआधार तयार गर्न आफूहरूले गाँउ केन्द्रित अभियान थालेको नेकपा कालिकोटका इन्चार्ज कर्णबहादुर भण्डारी बिराडले बताए । ‘अहिलेको व्यवस्थाका विरुद्धमा जनाधार तयार गर्नु पार्टीको पहिलो प्राथमिकता हो । हामी त्यसैका लागि गाँउगाँउमा जनतासँग छलफल केन्द्रित छौं,’ उनले भने । उनले विगतमा तत्कालीन नेकपा माओबादीको जनयुद्धले ल्याएको परिवर्तन र संस्थागत गर्न नसकिएका उपलब्धीका विषयमा जनतालाई जवाफ दिँदै एकीकृत जनक्रान्तिका लागि जनताको साथ माग्ने बताए । उनले गाउँगाउँमा सिंहदरबार आयो भनेर ल्याइएको लुटतन्त्रका विरुद्धमा जनकारबाही गरिने बताए । उनले गाँउमा रहेका भ्रष्ट जनप्रतिनिधि, ठेकेदार, विकासी योजनाका उपभोक्ता समितिसमेत निसानामा रहेको बताए । नेकपाका जिल्ला सेक्रेटरी मनीलाल ऐडी रणदीपले गाँउमा लुट मचाउने स्थानीय सरकारबाट नागरिक आजित भइसकेको बताए । समृद्धिका नारा दिएर कालिकोटमा भ्रष्टाचार गर्ने र सुर्खेत नेपालगञ्जतिर घर जग्गा खरीद गर्ने जनप्रतिनिधि, ठेकेदार र उपभोक्ता समितिमा रहने व्यक्तिलाई निरन्तर जनकारबाही गर्ने चेतावनी पनि दिए । केही दिन अगाडि मात्र दैलेख ठाँटिकाँध गाँउपालिका अध्यक्ष धिरबहादुर शाहीलाई अपहरण गरेको विषयमा जिल्ला सेक्रेटरी ऐडीले आर्थिक अनियमितताको गुनासो पार्टीमा आएकोले सोधपुछका लागि युवा संगठनले नियन्त्रणमा लिएको बताए । ‘धिरबहादुर शाहीलाई प्रहरीले उद्धार गर्‍यौं भन्यो तर हामीले सोधपुछ गरिसकेपछि छाडेका हौं । हाम्रो लडाइँ नेपाल प्रहरी, सेना जस्ता राज्यका सुरक्षा निकायहरुसँग छैन । हाम्रो लडाईं भनेकै भ्रष्ट, सामाजिक अपराधीसँगको हो । यो लडाईं जारी राखेका छौं,’ उनले भने, ‘तर भ्रष्ट जनप्रतिनिधि, ठेकेदार, उपभोक्तालाई पार्टीले जनकारबाही गर्दा कोही बाधक बन्न आउँछ भने प्रतिकार गर्छौं । जसबाट उत्पन्न परिणामको जिम्मेवार सरकार हुनुपर्छ । सरकारले नै हामीलाई जबरजस्त हिंसात्मक राजनीतिमा धकेल्न खोज्दैछ । सरकारले पार्टीका गतिविधिमा दमनको नीति लिएको छ । यसले राम्रो परिणाम आउँदैन ।’ नेकपा निकट युवा संगठनका कर्णाली ब्यूरो इन्चार्ज सितल बिष्टले भ्रष्टविरुद्ध युवा संगठनले निरन्तर जनकारबाही गर्ने बताए । ‘हामी संसदीय दलाल र भ्रष्टाचारीलाई छाड्दैनौं,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष १४ २०७६०२:५२:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend