काठमाडौँ - जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले प्रमुख नदीमा बाढी आउन सक्ने पूर्वानुमानको समयावधि तीन दिनबाट बढाएर पाँच दिन पुर्याएको छ। यससँगै नेपालभरका स–साना नदी तथा खोलामा आउने आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिमसमेत ४८ घण्टाअघिसम्म पूर्वानुमान गर्न सकिने भएको छ।
केन्द्रले बुधबारदेखि आकस्मिक बाढी जोखिम पूर्वानुमानको समयावधि २४ घण्टाबाट बढाएर ४८ घण्टासम्म पुर्याएको हो।
केन्द्रका उपकार्यकारी निर्देशक तथा प्रवक्ता डा. राजन भट्टराईका अनुसार बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवालाई थप प्रभावकारी बनाउँदै पूर्वानुमानको समयावधि विस्तार गरिएको हो।
उनका अनुसार केन्द्रको नेपाल केन्द्रित बाढी पूर्वानुमान मोडल तथा ईसीएमडब्ल्यूएफ (ECMWF) को इन्सेम्बल फोरकास्टमा आधारित प्रणालीलाई विश्वव्यापी तथा क्षेत्रीय जलविज्ञानसम्बन्धी विभिन्न मोडलसँग एकीकृत गरी नयाँ पूर्वानुमान प्रणाली सञ्चालनमा ल्याइएको छ।
दुई दिने आकस्मिक बाढी जोखिम पूर्वानुमान तयार गर्दा दक्षिण एसिया आकस्मिक बाढी विश्लेषण प्रणाली, भू–चिस्यान, नदीको हालको जलसतह तथा प्रवाह, वर्षाको पूर्वानुमान र जलाधारको अवस्थालगायत विभिन्न जलविज्ञानसम्बन्धी सूचकको समग्र विश्लेषण गरिने केन्द्रले जनाएको छ।
यस प्रणालीबाट सम्भावित बाढी तथा फ्ल्यास फ्लडको जोखिमबारे पहिल्यै जानकारी प्राप्त हुने भएकाले जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा उद्धार–प्रतिकार्यका लागि थप समय उपलब्ध हुने अपेक्षा गरिएको छ।
केन्द्रले आगामी दिनमा पूर्वानुमानको स्थानगत र समयगत शुद्धता थप बढाउने जनाएको छ। साथै प्रभावमा आधारित बाढी पूर्वानुमान, स्थानीय जोखिम पहिचान तथा पूर्वसूचना प्रणालीलाई थप सुदृढ गर्दै लैजाने तयारीसमेत रहेको जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।