काठमाडौं - नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वाचित भएका छन् ।
कैलालीमा सम्पन्न पार्टीको प्रथम महाधिवेशनले चौधरीलाई निर्विरोध अध्यक्ष चयन गरेको निर्वाचन अधिकृत गीता चौधरीले जानकारी दिएकी छन् ।
चौधरीको चयनसँगै पार्टीको नेतृत्व गर्ने उनको कानुनी र नैतिक योग्यताबारे बहस सुरु भएको छ। कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल सजाय भुक्तान गरिरहेकै समयमा राष्ट्रपतिबाट माफी पाएर रेशम छुटेका थिए ।
उनी पार्टीको संरक्षक रहँदै आएका थिए । पार्टी अध्यक्षमा उनकै श्रीमती रञ्जिता श्रेष्ठ थिइन् । तर यसपटक भने उनले रञ्जितालाई उम्मेदवारी हाल्न नदिई आफैं अध्यक्ष बनेका छन् ।
राजनीतिक दल सम्बन्धी ऐनमा रहेको व्यवस्थाका कारण चौधरीले पार्टीको नेतृत्व गर्न पाउने वा नपाउने विषयमा छिनोफानो गरिने निर्वाचन आयोगले जनाएको छ।
कानुन व्यवसायीहरू चौधरी पार्टीको नेतृत्वमा चुनिएको विषयले नैतिक प्रश्नसमेत उठाउने बताउँछन् । आयोगलाई ढाँटेर रेशम पार्टी अध्यक्ष बन्न सफल भएका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसको पुष्टि गरेका छन् । यसअघि रेशमले आफूले आयोगमा सोधेको र आयोगले मिल्ने जवाफ दिएको प्रचार गरेका थिए ।
तर थपलियाले रेशमले यसबारे आयोगसँग कुनै छलफल नगरेको बताएका छन् ।
‘उहाँले सोध्नुभएको पनि छैन र यदि सोध्नुभएको अवस्थामा पनि आयोगले कसलाई अध्यक्ष बनाउन मिल्छ वा मिल्दैन भन्दैन,’ थपलियाले बीबीसी नेपाली सेवालाई प्रतिक्रिया दिँदै भनेका छन् ।
चौधरी पार्टी अध्यक्ष भएको औपचारिक जानकारीको पर्खाइमा रहेको निर्वाचन आयोगले उक्त दलको अभिलेखीकरण अद्यावधिक गर्नुअघि सरकारसँग जानकारी माग गरिने जनाएको छ।
चौधरीका बारेमा भने यसअघिबाटै सार्वजनिक मञ्चमा प्रश्न उठिरहेका कारण उनलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षका रूपमा विवरण अद्यावधिक गर्नुअघि सरकारलाई सोधिने थपलियाले बताए।
उनी नैतिक पतन देखिने अभियोगमा कसुरदार देखिएको हो कि होइन भनेर आयोगले सरकारलाई सोध्न सक्ने र कसुरदार देखिए रेशमको पद खारेज हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।