काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बिहीबार बस्दैछ । बैठकमा सरकारमा सहभागी पार्टीका मन्त्रीहरुको कामको समीक्षा, राष्ट्रियसभाको चुनावबारे छलफल हुनेछ ।
सरकारले एक वर्ष पूरा गरेसँगै मन्त्रिमण्डल हेरफेरको चर्चा भइरहेको छ । एक वर्षको अवधिमा पार्टीका मन्त्रीहरुले गरेका कामको समीक्षा गर्दै मन्त्री हेरफेरमा कांग्रेसले आफ्नो धारणा बनाउने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यकाल एक वर्ष पूरा भएको अवसरमा सम्बोधन गर्दै मन्त्रिमण्डल हेरफेरको स्पष्ट संकेत गरेका थिए ।
उनले काम गर्न नसक्न मन्त्रीहरुलाई राजीनामा दिन भनेका थिए । कार्यक्षमता प्रमाणित गर्न नसके कसैले पनि ठाउँ ओगटिरहन नहुने उनले बताएका थिए ।
कांग्रेसले बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा सरकारको समीक्षाको विषयलाई एजेन्डाका रूपमा प्रवेश गराउन लागेको हो ।
बैठकका एजेन्डाबारे बुधबार सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच धुम्बाराहीमा छलफलसमेत भएको थियो ।
प्रधानमन्त्रीले चाहँदा पनि मन्त्री फेरबदल हुन सक्छ । केन्द्रीय समिति बैठकमा पनि मन्त्री फेरबदलको विषय उठाउँछौँ ।
प्रधानमन्त्रीको एक वर्षको समीक्षा आएको छ । कांग्रेसबाट सरकारमा रहनुभएका मन्त्रीहरूबाट के कति काम भए–भएनन्, समीक्षा गछौँ ।
त्यसपछि मन्त्रीहरूको भविष्यबारे टुंगो लाग्नेछ । कांग्रेसमा मन्त्रीहरूको कार्यसम्पादनलाई लिएर असन्तुष्टि देखिँदै आएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा कांग्रेसबाट नौ मन्त्री छन् ।
ती मन्त्रीको कार्यसम्पादन उत्कृष्ट नभएको भन्दै पार्टीमै आलोचना हुँदै आएको छ । यसअघिको कार्यसमिति बैठकमा पनि पार्टी र सरकारको कार्यशैलीमा तालमेल नभएको भन्दै आलोचना भएको थियो ।
देउवाले विधानअनुसार दुई महिनामा र कांग्रेसले पारित गरेको कार्यतालिकाअनुसार दुई महिनाको पहिलो साता बैठक राख्नुपर्नेमा सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैलीमाथि प्रश्न उठ्ने र फेरबदलको विषय उठ्ने सम्भावना देखेपछि बैठक टार्दै आएका थिए ।
सभापति देउवाले राष्ट्रिय सभा निर्वाचनअघि विवाद रोक्न विभाग गठनलगायत कामलाई थाती राख्दै आएका छन् । नेताहरूले आजको बैठकमा मन्त्रीहरूको कडा आलोचना गर्लान् भन्ने डर देउवालाई देखिएको छ ।
जतिसुकै विवादमा परे पनि, कामै देखाउन नसके पनि देउवा मन्त्रीहरूलाई हटाउन अनिच्छुक देखिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।