काठमाडौं - कोशी प्रदेशमा बहुमतको मुख्यमन्त्री दाबी गर्न असोज २६ सम्मको समय दिइएको छ ।
प्रदेश प्रमुख कार्यालयले शनिबार सूचना निकाल्दै आगामी असोज २६ सम्म बहुमतको मुख्यमन्त्री दाबी गर्न आह्वान गरेको छ ।
जसअनुसार अब संविधानको १६८ को उपधारा ५ अनुसार दलहरूले सरकार बनाउन दाबी पेस गर्नुपर्ने हुन्छ । एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिन नसक्ने अवस्था आएपछि शनिबार पदबाट राजीनामा दिएका थिए ।
जसअनुसार कोशी प्रदेश सरकार ढलेको छ । केन्द्रीय गठबन्धनअनुसार कांग्रेसले मुख्यमन्त्री पाउनुपर्ने हो । तर अहिले माओवादीले बखेडा झिक्न थालेको छ ।
माओवादीका इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा दाबी गर्ने बताएका छन् । यसले कांग्रेस र माओवादीको गठबन्धन भत्कने संकेत देखिएको छ ।
माओवादीले एमालेसँग मिलेर सरकार बनाउने तयारी गरेको छ । यसका लागि भित्रभित्रै एमाले र माओवादीबीच छलफल चलिरहेको छ ।
यो कुरालाई माओवालीका एक प्रभावशाली नेताले पुष्टि गरेका छन् । माओवादीका उपमहासचिव वर्षमान पुनले आफ्नो दल र एमालेबीच फेरि पार्टी एकता वा कुनै प्रकारको सहकार्य हुन सक्ने बताएका छन्।
शनिबार आयोजित ‘माओवादी जनयुद्धका सहिद तथा बेपत्ता परिवार र आस्थाका बन्दीहरू’को सम्मान कार्यक्रममा उनले विगतको जरा एउटै भएको र कयौँ राजनीतिक एजेन्डामा समानता भएका दुई पार्टी कुनै पनि वेला मिल्न सक्ने बताए।
फेरि मिल्नुपर्ने अवस्था आउन सक्ने भएकाले धेरै टाढा पुगेर माओवादी आन्दोलनको योगदानलाई अवमूल्यन नगर्न उनले एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे।
‘हिजो हामीले नेकपा बनायौँ। यद्यपि, टिकाउन सकिएन, इतिहासले त्यसको समीक्षा गर्दै गर्ला। फेरि पनि कम्युनिस्ट पार्टीहरू मिलेर ढिलो चाँडो संयुक्त मोर्चा, पार्टी एकता, गठबन्धन या संयुक्त सरकार कुनै पनि रूपमा जाने सम्भावना छ,’ पुनले भने, ‘म कमरेड केपी ओली र एमालेका नेताहरूलाई भन्न चाहन्छु, धेरै पर गएर आन्दोलनको अपमान नगर्नुस्। हामी त्यसलाई अस्वीकार गर्दछौँ।’
वर्षमान पुन चिनियाँ निकट नेता हुन् । लामो समय चीनमा उपचार गरेर फर्केका पुन सधैं एमालेसँग मिलेर सरकार बनाउनुपर्ने पक्षमा रहँदै आएका छन् ।
गत पुसमा कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिलेर माओवादीले सरकार बनाउनुमा पनि पुनकै प्रमुख हात रहेको बताइएको थियो ।
अहिले पनि उनी एमालेसँग मिलेर सरकार बनाउनुपर्ने पक्षमा रहेकाले चाँडै कांग्रेस र माओवादीको गठबन्धन तोडिने अनुमान गरिएको छ ।
असोज २६ मा कोशीमा बन्ने नयाँ सरकारले केन्द्रको समीकरण फेरबदल हुने कि नहुने निर्धारण गर्ने बताइन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।