काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्टन्ट गर्न माहिर छन् । कहाँ जाँदा आफ्नो भोट बढ्छ, समर्थक बढ्छन्, के बोल्दा ताली र प्रशंसा बटुलिन्छ भन्ने उनलाई राम्रो ज्ञात छ ।
त्यही भएर पार्टी गठन भएको ६ महिनामै रास्वपाले २० सिट जित्न सफल भएको थियो । यसबीचमा दोहोरो नागरिकता काण्डले उनको सांसद पद नै खारेज भयो । रास्वपामा विभिन्न काण्ड सार्वजनिक भए ।
त्यसले रविको लोकप्रियतामा ह्रास ल्याउने काम गरेको छ । ४० दिन गृहमन्त्री बन्दा रविले गरेका निर्णय विवादमा मात्र परेन, उनी भ्रष्टाचारमा समेत मुछिए ।
दोहोरो राहदानीको विषयमा उनीविरुद्धको मुद्दाको छिनोफानो हुन बाँकी नै छ । यतिबेला उनले सरकारको विरोध गर्ने कुनै मुद्दा पाएका छैनन् । केही दिनअघि आममाफी पाएर छुटेका योगराज ढकाल रिगललाई दिएको आममाफीप्रति असन्तुष्टि जनाउन रविसहितको टोली शीतल निवास पुगेको थियो ।
राष्ट्रपतिले स्वविवेक प्रयोग गर्न नसकेको भन्दै उनले असन्तुष्टि जनाए । मंगलबार बझाङलगायतका जिल्लामा भूकम्प गयो । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भौतिक संरचनामा क्षति पुगेको छ ।
भूकम्पबाट घाइते भएकाको उपचार प्रदेश सरकारले बेहोर्ने निर्णय भइसकेको छ । सरकारले राहत र उद्धारको काम गरिरहेको छ । तर रवि लामिछाने चर्चा बटुल्न र सहानुभूति पाउन बझाङ पुगेका छन् ।
त्यो पनि खाली हात । एउटा दलको सभापति जस्तो व्यक्ति खाली हात भूकम्पपीडितको घरमा पुग्दा उनलाई कुनै संकोच लागेको छैन । विपदमा परेकालाई राहतको जरुरी हुन्छ ।
रास्वपाले अहिलेसम्म एक किलो चामल राहत दिन सकेको छैन । तर पीडितको घरघरमा खाली हात जाँदा पनि उनले कुनै संकोच नमानेको देख्दा अहिले रविको चौतर्फी आलोचना भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।