काठमाडौं । पत्रकार रवि लामिछानेले आफ्नो राजनीतिक यात्राबारे घोषणा गर्न कार्यक्रम राखेको एकदिन अघि उनका दाइ तथा सञ्चारकर्मी हरिशरण लामिछानेले इच्छुक स्वतन्त्र उम्मेदवारहरूको अलाइन्स बनेको घोषणा गरेका छन्।
भाइ रविलाई उछिनेर हरिशरणले एकदिन अगाडि स्वतन्त्रको अलाइन्स घोषणा गरेपछि त्यसको चर्चा पाएको छ। रवि लामिछानेले पनि राजनीतिमा आउने घोषणा गर्दा आगामी संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकाहरूसँग पनि कुरा गरिरहेको र सबैलाई लिएर अघि बढ्ने बताएका थिए।
हरिशरणले सोमबार ‘स्वतन्त्रहरूको तर्फबाट’ प्रेस नोट जारी गर्दै आफू काठमाडौं–३ बाट, रन्जु दर्शना काठमाडौं–५, पुकार बम काठमाडौं–१ र सुमन सायमी काठमाडौं–८ बाट चुनाव लड्ने घोषणा गरेका छन्।
उनले काठमाडौं बाहिर पनि अलाइन्सका उम्मेदवार उठ्ने बताएका छन्। विश्व साइकल यात्री पुष्कर शाह दोलखाबाट चुनाव उठ्ने उनले दाबी गरेका छन्।
प्रेस नोटमा रवि लामिछानेका बारे कुनै चर्चा गरिएको छैन। रविले राजनीतिमा आउँदा स्वतन्त्रहरूलाई जोड्ने बताएका थिए। उनले भनेका थिए( एक्लै स्वतन्त्र जाने सोच छैन। बरू भएका स्वतन्त्रहरूलाई जोड्ने योजना बनाउँदैछु।
तीन दशक रेडियो नेपालमा काम गरेर राजीनामा दिएका हरिशरणले अब आफू सक्रिय राजनीतिमा होमिएको बताए।
हरिशरण सुरूमा काभ्रेबाट चुनाव उठ्न चाहेका थिए। तर उनले काभ्रेभन्दा काठमाडौं–३ मै उठ्ने निर्णय गरेको बताए। भाइ रवि पनि यही क्षेत्रमा चुनाव लड्ने चर्चाबारे भने आफूलाई जानकारी नभएको हरिशरणले बताए। भाइसँग आफूले यसबारे कुराकानी गरेको हरिशरणले बताए।
हरिशरणले भाइ रविले फिल्मी शैलीमा राजनीति गर्न खोजेको बताए। ‘राजनीति भनेको अर्कै क्षेत्र हो। सबै कुरा सोचविचार गर्नुपर्छ। उसले त अपर्झट टिभी छोडेको छ। फिल्मी शैलीले त राजनीति होलाजस्तो मलाई लाग्दैन,’ उनले भने।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।