काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको मंसिरमा दुई वर्ष पूरा हुँदैछ । २२ महिनासम्म पनि कांग्रेस केन्द्रीय कार्यसमितिले पूर्णता पाउन सकेको छैन ।
बिहीबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकअघि पार्टी सभापति शेरबहादुर देउवाले आठ केन्द्रीय सदस्य मनोनयन गरे ।
मनोनीत हुनेमा मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, डा. चन्द्र भण्डारी, शिवप्रसाद हुमागाईं, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा छन् ।
भण्डारी शेखर–गगन समूह र हुमागाईं नेता कृष्ण सिटौलानिकट हुन् । बाँकी ६ जना संस्थापन पक्षका छन् । पर्साका व्यवसायी रुंगटा, विद्यार्थी नेता पौडेल, भरत शाह र शारद पौडेल पहिलोपटक कांग्रेस केन्द्रीय समितिमा आएका हुन् ।
पदाधिकारीमा पराजित सबै केन्द्रीय समितिमा मनोनीत भए पनि उपसभापतिमा पराजित भण्डारीलाई नसमेट्दा इतर समूहले देउवालाई दबाब दिँदै आएको थियो ।
विश्वकर्मा देउवा समूहबाट सहमहामन्त्री बन्दा पराजित भएका थिए । उनलाई जीवन परियारले पराजित गरेका थिए । कांग्रेस विधानमा सभापतिलाई ३३ केन्द्रीय सदस्य मनोनयनको अधिकार दिएको छ ।
देउवाले पटक–पटक गरी २४ जनाको मनोनयन गरेका थिए । मनोनीतमध्ये हालका रामचन्द्र पौेडेल राष्ट्रपति बनेसँगै पछिल्लो समय १० केन्द्रीय सदस्य मनोनयन हुन बाँकी थिए ।
सभापति देउवाले अहिलेसम्म ३२ जना मनोनीत गरिसकेका छन् । विधानले दिएको अधिकारअनुसार अझै एकजना र राष्ट्रपति पौडेलको ठाउँमा एकजना मनोनीत हुन बाँकी छ ।
केन्द्रीय सदस्यमध्येबाट एकजनालाई कोषाध्यक्षको जिम्मेवारी तोक्ने अधिकार पनि सभापतिलाई छ । तर, महाधिवेशनको दुई वर्षसम्म पनि यी विषय थाती छन् ।
देउवाले कसलाई कोषाध्यक्ष बनाउँदैछन् भन्ने अझै खुलेको छैन । कांग्रेस कोषाध्यक्षका लागि विनोद चौधरी, उमेश श्रेष्ठ, आरजु राणा देउवा, ज्ञानेन्द्रबहादुर कार्कीलगायत दौडमा छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।