काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकाप्रति असन्तुष्ट देखिएका छन् ।
आफ्नो पार्टीकै सहयोगमा गृहमन्त्री बनेका श्रेष्ठले कांग्रेसका नेतालाई मात्र आरोप लगाएकै भरमा थुन्ने तर प्रमाणसहित प्रतिवेदन बाहिर आउँदा पनि माओवादीका नेतालाई केही नगरेको भन्दै देउवाले सर्वदलीय बैठकमै आक्रो व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बोलाएको सर्वदलीय बैठकमा देउवाले गृहमन्त्री श्रेष्ठको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेको नेताहरूको भनाइ छ ।
कसैको बयानका आधारमा पूर्वगृहमन्त्री एवं आफ्नो पार्टीका नेता बालकृष्ण खाणलाई पक्राउ गरिएको भन्दै देउवाले श्रेष्ठमाथि आक्रोश पोखेका थिए।
एलेक्ट्रिक सिसगरेट ‘भेप’भित्र सुन लुकाएर ल्याउने तस्करसँगको साँठगाँठमा संलग्न हुँदा पनि माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा पक्राउ नपरेको भन्दै देउवाले आइतबारको बैठकमा आक्रोश व्यक्त गरेका थिए ।
सुन तस्करसँग महराको साँठगाँठ रहेको कुरा छापा तथा सीआईबीको रिपोर्टमा आउँदासमेत छानबिन नगरिएको देउवाको भनाइ थियो ।
नक्कली शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गर्ने भनेर देखाइएको सक्रियता, ललिता निवास जग्गा हिनामिना प्रकरणबारे भइरहेको अनुसन्धान, गौर हत्याकाण्डका पीडितसँग भएको पाँचबुँदे सम्झौतादेखि सुन तस्करी घटनासम्म आइपुग्दा आफ्नै समर्थनमा बनेको सरकारका गृहमन्त्री श्रेष्ठप्रति देउवा बढी सशंकित भएका छन् ।
‘कसैको बयानका आधारमा बालकृष्ण खाणलाई ल्याएर थुन्ने, छानबिन गर्ने ? तर यतिको छापामा आउँदा, सीआईबीको रिपोर्ट, सबैतिर हुँदा पनि महरालाई ल्याएर छानबिन किन नगर्ने ? मैले पार्टीमा जवाफ दिनु पर्दैन ?’ भनेर देउवा कड्किएको नेताहरूको भनाइ छ । विमानस्थलबाट ६० केजी सुन बाहिरिँदा प्रहरीको जानकारीमै नहुनुमा गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने कि नपर्ने भन्ने प्रश्न पनि देउवाले गरेका थिए ।
सर्वदलीय बैठकमा देउवा जंगिएपछि प्रधानमन्त्री प्रचण्ड मौन बसेका थिए । गृहमन्त्री श्रेष्ठले देउवाले सोधेका जवाफ दिएका थिए । उनको अनुहार कालोनीलो बनेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।