काठमाडौं - गृहमन्त्री नारायणकाजी श्रेष्ठ सत्ता साझेदार नेपाली कांग्रेसका नेता सिध्याउने अभियानमा लागेका छन् ।
उस्त उस्तै प्रकरणमा माओवादी नेतालाई जोगाउने, तर कांग्रेस नेतालाई जेल हालेबाट गृहमन्त्री श्रेष्ठको असली रूप देखिएको हो ।
नक्कली शरणार्थी प्रकरणमा बिचौलियाले नाम पोलेकै आधारमा गृहमन्त्री श्रेष्ठले कांग्रेस नेता बालकृष्ण खाँणलाई जेल हाले । तर भन्सारवाट चोरी भएको नौ किलो सुनमा मुछिएका माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महरालाई श्रेष्ठले उन्मुक्ति दिएका छन् ।
सिआईबीले इलेक्ट्रिक सिगरेट (भेप) मा सुन ल्याएर तस्करी गरेको, भन्सारबाट चोरी गरेर माओवादी नेता महराको बाबुछोराले सुन निकालेको किटानी गर्दा पनि गृहमन्त्री श्रेष्ठले छानबिनमा तानेका छैनन् ।
आठ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर प्रहरीको विशेष अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनमा किटान हुँदा पनि उनीहरूमाथि मुद्दा दर्ता त भएको छैन नै, उनीहरूलाई योजनाबद्ध रूपमा उन्मुक्ति दिन खोजिएको छ ।

चिनियाँ नागरिक लीसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबुछोराले उनलाई सहयोग पुर्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको तथ्य स्थापित भइसकेको छ ।
सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहींबाट मिलिभगतमा बेच्ने सञ्जालमा महरा बाबुछोरा भएको किटान प्रहरी प्रतिवेदनमा छ ।
प्रहरीले कल डिटेल रेकर्डसहित कृष्णबहादुर र राहुलको विवरण खुलाउँदा पनि उनीहरूको प्रसंग छायामा पारेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले गत असार २७ मा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
गत पुस १० मा दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङको लगेजमा ७३ बट्टामा ७३० थान भेप भेटिएको थियो । एकैपटक यति धेरै परिमाणमा भेप आएको भन्दै विमानस्थल भन्सारले समातेको थियो ।
अनुसन्धान गर्दै जाँदा भेपभित्र सुन भेटिएको थियो । प्रहरी अनुसन्धान नै भन्छ, ‘नौ किलो ११।५२४ ग्राम सुनको बजार मूल्य आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रहेको काठमाडौं सुनचाँदी व्यवसायी संघको मूल्यांकन छ ।’

महरा यसअघि चिनियाँ व्यापारीसँग ५० करोड बार्गेनिङ काण्डमा पनि छानबिनमा तानिएका थिए। यो काण्डमा पनि उनलाई उन्मुक्ति दिइएको थियो । त्यसबेला प्रचण्ड नै प्रधानमन्त्री थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।