काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले बुधबार ढिलो गरी पठाएको सिफारिस हिजै राष्ट्रपति कार्यालयमा दर्ता भएपछि नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा नियुक्त हुने पक्कापक्की भएको छ ।
राष्ट्रपतिको कार्यालयले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गरेको सूचना राष्ट्रियसभाको सचिवालयलाई पठाएलगत्तै आजै उहाँको शपथ गराउने कार्यक्रम पनि तय भएको प्रधानमन्त्री कार्यालयस्रोतले जनाएको छ ।
‘यदि राष्ट्रपति कार्यालयबाट आज चिठी आयो भने हामी ढिलो नगरी उहाँलाई बोलाउँछौँ’, राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बताए ।
गौतमका बारेमा पार्टी निर्णयका आधारमा मन्त्रिपरिषद् बैठकमा प्रस्ताव टेबुल हुँदासम्म निर्णय सार्वजनिक नगरिएपछि पार्टी निर्णय कार्यान्वयनको विषयमा सर्वत्र प्रश्न उठेको थियो ।
पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग यसबारेमा बुधबार व्यापक प्रश्न उठाएपछि हिजै सिफारिस पठाइएको हो ।
मन्त्रिपरिषद् टुंग्याउन सचिवालय बैठक
नेकपाको सचिवालय बैठक शुक्रबार विहान बालुवाटारमा बस्ने भएको छ । भोलिको बैठकले मन्त्रिपरिषद् पुनर्गठनका बारेमा टुंगो लगाउने सम्भावना रहेको एक सचिवालय नेताले जनआस्थालाई बताए ।
स्थायी कमिटी बैठकको निर्णयअनुसार अब गरिने मन्त्रिपरिषद् पुनर्गठन तथा सबैखाले सरकारी नियुक्तिपूर्व पार्टीको अनुमति लिनुपर्ने छ । सोहीअनुसार भोलिको सचिवालय बैठकमा मन्त्रिपरिषद्मा को रहने, को हट्ने भन्ने कुरा टुंगो लगाउन लागिएको हो ।
प्रधानमन्त्रीको अनिच्छा भए पनि उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय तोक्ने प्रस्ताव भोलिको सचिवालय बैठकमा पेश हुँदैछ । जनआस्था
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।