काठमाडौं - परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रिपरिषद्ले ६० लाख पासपोर्ट छपाइको निर्णय गरिसकेको बताएका छन् ।
मुलुकमा पासपोर्टको अभाव हुन नदिन पाँच वर्षका लागि ६० लाख पासपोर्ट छपाइको निर्णय भएको उनको भनाइ छ ।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा मन्त्री साउदले पासपोर्ट खरिदको निर्णय टेन्डर प्रक्रियामा जान लागेको जानकारी दिए ।
‘पासपोर्ट जुनसुकै बेला पनि अभाव हुनसक्ने गर्न हुन्न भनेर लामो अवधिका लागि पासपोर्ट छपाइ गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ,’ उनले भने, ‘पाँच वर्षलाई पुग्ने गरेर लगभग ६० लाख पासपोर्ट छाप्ने निर्णय गरिएको छ । यो निर्णय अब टेन्डरको प्रक्रियामा जानकारी समितिलाई गराउँदछु ।’
अहिले मौज्दात रहेका पासपोर्टबाहेक थप ६० लाख प्रति पासपोर्ट छपाइको निर्णय हुन लागेको उनले बताए । मन्त्री साउदले परराष्ट्र मन्त्रालयको पुनःसंरचना आवश्यक रहेको पनि बताए ।
मन्त्रालयमा न्यूनतम जनशक्ति पनि नभएको भन्दै उनले ओएनएम सर्भे गर्नुपर्ने बताए ।
साउदले भने, ‘रि–स्ट्रक्चरिङ गर्नुपर्ने कुरा र ओएनएम गर्नुपर्ने कुरा मैले भनिसकेको थिएँ । यसमा जति परराष्ट्र मन्त्रालयलाई दायित्व दिइएको छ, त्यो दायित्व निर्वाह गर्नका लागि न्यूनतम जनशक्ति हामीसँग हुनैपर्छ ।’
अहिलेको अवस्थाको मन्त्रालयको संरचनाले देश र जनताका लागि धेरै काम गर्न नसक्ने उनको भनाइ छ । मन्त्री साउदले खाली रहेका दूतावास र नियोगहरूमा राजदूत नियुक्तिका लागि प्रक्रिया थालिने जानकारी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।