काठमाडौं- नेपाली कांग्रेसका सांसद एनपी साउद परराष्ट्रमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई आइतबार मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री साउदले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनलाई शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले शपथ दिलाएका हुन् । साउद नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष हुन् । कञ्चनपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी साउद यसअघि सिँचाइ मन्त्री र शिक्षा राज्यमन्त्री भइसकेका छन् ।
साउद २०३६ सालमा महेन्द्रनगर माध्यमिक विद्यालयको नेपाल विद्यार्थी संघको इकाइ सचिव बनेका थिए । २०४१ सालको नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य, २०४८ असोज १६ देखि १९ सम्म नेविसंघको छैटौं महाधिवेशनबाट अध्यक्ष बनेका थिए । ०५९ वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस विभाजित भएर बनेको नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्य।
कांग्रेस प्रजातन्त्रिकको ११औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य बनेका साउद ०६४ मा कांग्रेस र कांग्रेस प्रजातन्त्रिकबीच एकता हुँदा पनि केन्द्रीय सदस्य भएका थिए । एकीकरणपछिको १२औं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्य विजयी भएका थिए । १३औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य भएका उनी १४औं महाधिवेशनमा पनि विजयी ।
२०५१ मा पहिलोपटक संसदीय निर्वाचनमा पराजित, २०५६ मा विजयी, २०६४ मा पराजित, २०७० मा निर्वाचित, २०७४ मा पराजित बनेका उनी २०७९ मा सांसद निर्वाचित भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।