काठमाडौं - संघीय संसदका दुवै सदनको अवरोध खुलाउन आज पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा छलफल हुन लागेको छ ।
प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । त्यसअघि नै तीन शीर्ष नेताबीच भेटवार्ता हुन लागेको हो ।
संसदको गतिरोध अन्त्यका लागि प्रचण्ड, देउवा र ओलीबीच आइतबार पनि छलफल भएको थियो। सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले आफूले दिएको अभिव्यक्तिमा स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति जुटेको थियो । तर दिउँसो संसद् भवन पुगेपछि सहमति बिथोलिएको थियो।
प्रधानमन्त्रीको सचिवालयले गत असार २१ गते निकालेको प्रेस विज्ञप्तिप्रति ओलीले आपत्ति जनाएपछि अवरोध हट्न नसकेको बताइएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले निकालेको विज्ञप्तिमा मिटरब्याजीसम्बन्धी अध्यादेश निष्क्रिय बनाउन एमालेले जानीबुझीकन प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरोध गरेको आरोप लगाइएको थियो ।
त्यसमा ओलीले निकै आपत्ति जनाएका छन् । साथै, माओवादीका प्रवक्ता कृष्णबहादुर महराले निकालेको विज्ञप्तिमा केपी ओलीले भारतीय रअका प्रमुख सामन्त गोयललाई मध्यराति बालुवाटारमा भेटेको भन्दै उनको आलोचना गरिएको छ ।
यी सबै विषयलाई समेटेर प्रचण्डले संसदमा स्पष्टीकरण दिने तयारी गरेका छन् । प्रमुख तीन दलका नेताले मात्र छलफल गर्दैमा संसद् चल्न नसक्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आपत्ति जनाइसकेका छन् ।
उनीहरूको छलफलले संसद्को एजेन्डा तय नगर्ने रविको भनाइ छ । रविले सभामुख देवराज घिमिरेको भूमिकाप्रति पनि आपत्ति जनाइसकेको छ । एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भनेर संसद् अवरोध गर्दा रास्वपा र राप्रपाले पनि समर्थन जनाएका थिए ।
यदि आज प्रचण्डले राजीनामा नदिई संसद् सुचारु भएमा रास्वपा र राप्रपाले के कस्तो भूमिका निभाउलान् भन्ने चासो बढेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।