बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक बिशेष

सुशील सभापति हुँदा भाँडभैलो मच्चाएका थिए देउवाले, सार्वजनिक ठाउँमै ‘अपशब्द’ समेत प्रयोग गर्थे

सुशील सभापति हुँदा भाँडभैलो मच्चाएका थिए देउवाले, सार्वजनिक ठाउँमै ‘अपशब्द’ समेत प्रयोग गर्थे

  • मिडिया डबली
  • आइतवार, आषाढ २४ २०८०

  • 4.4K
    SHARES

  • सुशील सभापति हुँदा भाँडभैलो मच्चाएका थिए देउवाले, सार्वजनिक ठाउँमै ‘अपशब्द’ समेत प्रयोग गर्थे

    काठमाडौं - सुशील कोइराला नेपाली कांग्रेसको सभापति भइञ्जेल वर्तमान सभापति शेरबहादुर देउवासँग उनको सम्बन्ध कहिल्यै हार्दिक हुन सकेन ।

    झन्डै साढे चार वर्ष पार्टी सभापतिका रूपमा बिताएका सुशीलले देउवाकै कारण पार्टीलाई राम्रोसँग चलाउन सकेनन् ।

    दुई नेताबीचको भागबन्डाले पार्टी संगठन लथालिंग बनेको थियो । सुशील ०६७ असोजमा भएको १२औँ महाधिवेशनबाट सभापति चुनिएका थिए ।

    तर, देउवासँग भागबन्डा गरेर मात्र अघि बढ्नुपर्ने अवस्था उनलाई सधैँ आइलाग्यो । देउवालाई चित्त बुझाएपछि पार्टीमा सबै विवाद मिल्छ भन्ने सोच त्यसबेला देखिएको थियो ।

    कोठामा बसेर गरिने निर्णयलाई पार्टीको संस्थागत धारणा भन्दै लाद्न गरिन्थ्यो । त्यसबेला पनि वर्तमान महामन्त्री गगन थापाले आफ्ना असन्तुष्टि सार्वजनिक रूपमै व्यक्त गर्ने गर्थे ।

    ०६९ चैत २६–२९ मा नवलपरासीमा बसेको महासमिति बैठकले एक महिनाभित्र सबै केन्द्रीय विभाग गठन गर्ने निर्णय गर्‍यो ।

    कोइरालाले भने त्यसको तीन महिनापछि ०७० जेठको पहिलो साता मात्र ४२ विभाग र १४ अञ्चल संयोजक तोके । एकलौटी संयोजक तोकेको भन्दै वरिष्ठ नेता देउवा पक्षका १६ जनाले सामूहिक राजीनामा दिए ।

    १२ विभाग र चार अञ्चल संयोजकले निर्णय नसच्याएसम्म काम नगर्ने भन्दै राजीनामा दिएपछि विभागका समितिसमेत बनेनन् । यसरी त्यसबेला देउवाले सुशीललाई असहयोग गर्दै आएका थिए ।

    कतिसम्म भने पार्टी सभापति सुशीललाई देउवाले सार्वजनिक ठाउँमै तथानाम गाली गर्थे । पार्टीलाई राम्रोसँग सञ्चालन गर्न पनि नदिने, अनि एकलौटी ढंगले हिँड्न खोजेको भन्दै ट्रयापमा पारिन्थ्यो ।

    एकपटक त देउवाले सुशीललाई रिसको झोकमा ‘बहुला’ समेत भनेका थिए । त्यो विषयले कांग्रेसमा निकै तिक्तता उत्पन्न गरेको थियो । आफूले भनेअनुसार सुशील नचलेको भन्दै देउवाले केन्द्रीय सदस्यसमेतबाट राजीनामा दिएका थिए ।

    जुन राजीनामा लिएर अहिलेका प्रचार विभाग प्रमुख मिन विश्वकर्मा सभापति सुशील कोइरालाकहाँ पुगेका थिए । अहिले यिनै विश्वकर्मा नीति र नेतृत्वको आलोचना नगर्न भन्दै प्रचार विभागबाट निर्णय गराउन लागिपरेका छन् ।

    विश्वकर्मा एमालेमा राजनीति गर्दागर्दै कांग्रेस प्रवेश गरेका हुन् । अधिवक्तासमेत रहेका उनले देउवालाई प्रभाव पारी सधैं अवसर बटुल्ने गरेका छन् ।

    देउवाकै कृपाले दलित संघको अध्यक्षसमेत बनेका विश्वकर्माकै कारण संघमा फुट आएको थियो । धेरै सम्भावना भएका युवा नेताले कांग्रेस छाडेका थिए ।

    आफ्नालाई महत्वपूर्ण ठाउँमा नियुक्ति दिलाउने, इतर पक्षलाई पेल्ने विश्वकर्माको शैली आजपर्यन्त कायमै छ । देउवा अहिलेसम्म पाँचपटक प्रधानमन्त्री बनिसकेका छन् ।

    अझै एकचोटि प्रधानमन्त्री बन्ने दाउमा छन् । एकचोटि वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल कांग्रेसको संसदीय दलको नेता निर्वाचित भएका थिए ।

    कांग्रेसमा दलको नेता प्रधानमन्त्री बन्ने परम्परा छ । तर पौडेल प्रधानमन्त्री बन्न सकेनन् । हङ पार्लियामेन्ट भएका बेला पौडेल १७ पटकसम्म प्रधानमन्त्रीको उम्मेदवार बने ।

    तर प्रधानमन्त्री बन्न सकेनन् । त्यसबेला देउवाले बहुमतको प्रधानमन्त्री बन्न चाहेका थिए । तर अंक ल्याउनैपर्ने भएपछि उनले पौडेललाई अघि सारे ।

    कांग्रेसको इतिहासमा दलको नेता प्रधानमन्त्री नभएका पौडेल मात्र हुन् । अहिले देउवा दोस्रो कार्यकाल सभापतिका रूपमा छन् । तर उनलाई इतर पक्षले त्यस्तो पेलेको छैन ।

    सार्वजनिक रूपमा हुर्मत पनि लिएको छैन । जुन व्यवहार देउवाले सुशील कोइराला सभापति हुँदा देखाउँथे, अहिलेका युवा नेताहरूले एक प्रतिशतसम्म नदेखाएको नेताहरू नै बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend