बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओलीले युवालाई रोकेर बूढा नेतालाई अवसर दिन थालेपछि एमालेमा सन्नाटा

ओलीले युवालाई रोकेर बूढा नेतालाई अवसर दिन थालेपछि एमालेमा सन्नाटा

  • मिडिया डबली
  • आइतवार, आषाढ १७ २०८०

  • 2.5K
    SHARES

  • ओलीले युवालाई रोकेर बूढा नेतालाई अवसर दिन थालेपछि एमालेमा सन्नाटा

    काठमाडौं  - असार २ गते पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्तिपछि सो पार्टीमा अहिले निराशा बढ्न थालेको छ ।

    ओलीले भनेका थिए– ‘थुप्रै साथी ७० वर्ष छ भनेपछि हच्किएका हुन्छन् । ७० वर्ष पुगेपछि कामै गर्न नपाउने, राजनीति नै छोड्नुपर्ने र कमिटी नै छोड्नुपर्ने स्थिति भएपछि ७० वर्ष अप्ठ्यारो भयो । कतिपय साथीलाई आउन, उहाँहरूलाई एडजस्ट गर्न, जिम्मेवारी दिन पनि ७० वर्ष हटाइदिनुपर्‍यो । दुनियाँमा ७० वर्ष कहीँ पनि छैन । अमेरिकामा ८० वर्षको मान्छेले राष्ट्रपति चलाइराखेको छ । अनि, शेरबहादुर देउवाजी ७७, ७८ कति वर्ष हो ? चलाइराख्नुभएको छ । कतै पनि छैन ७० । हाम्रोमा राखेका थियौँ । हामीलाई पनि उपयुक्त भएन । यसले प्रगति गर्न अप्ठ्यारो पार्‍यो र त्यसकारण हटाउने भन्यौँ ।’

    तर जेठ २३ मा एमाले अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै पार्टीमा युवाको सहभागिता बढाउने घोषणा गरेका थिए । अन्तरपार्टी निर्देशनमा भदौदेखि सुरु हुने प्रदेश, जिल्ला, पालिका हुँदै वडासम्मको अधिवेशनबाट सबै कमिटीमा ३५ वर्षमुनिका कम्तीमा एकतिहाइ युवालाई आरक्षण गर्ने, हरेक वडाबाट कम्तीमा १० जना प्रतिभाशाली क्षमतावान् युवा नेता उत्पादन गर्ने निर्णय कार्यान्वयन गराउन भनिएको छ ।

    अपानि कार्यान्वयन गराउन एमालेका केन्द्रीय नेताहरू नयाँ जिम्मेवारीसहित प्रदेश र जिल्ला कमिटीको बैठकका लागि कार्यक्षेत्रमा व्यस्त छन् ।

    तर कार्यकारी पदमा ७० वर्षे उमेरहद हटाइएको विषयले अहिले एमालेपंक्ति तरंगित छ । यहीवेला अध्यक्ष ओलीले कामलाई उमेरले नछेक्ने भन्दै सबैले काम र नेतृत्वमा प्रतिस्पर्धा गर्न पाउने गरी विधानको व्यवस्था हटाइएको प्रस्टीकरण दिएपछि त अब एमालेमा युवा नेतृत्व त धेरै टाढाको विषय बन्ने देखिएको छ ।

    ओलीले पार्टी काम र आन्तरिक प्रतिस्पर्धा जितेर मात्र युवा पुस्ता जिम्मेवारीमा पुग्न सक्ने अभिव्यक्ति दिपछि एमालेको पछिल्लो नीति र निर्णय कार्यान्वयनमाथि शंका उब्जाएको छ ।

    उनको अभिव्यक्ति र ७० वर्षे उमेरहद हटाउने निर्णयले वृद्ध नेताहरूलाई खुँदो पल्टिने भएको छ । ११औँ महाधिवेशनले उमेरहदको व्यवस्था हटायो भने एमालेको केन्द्रीय नेतृत्वमा खासै परिवर्तन हुनेछैन ।

    दोस्रो कार्यकाल अध्यक्ष बनेका ७२ वर्षीय केपी ओलीलाई तेस्रोपटक अध्यक्ष बन्ने ढोका खुल्नेछ । एमालेमा ७० वर्ष पार गरेका ६ जना पदाधिकारी अध्यक्षका प्रतिस्पर्धी बन्न सक्नेछन् ।

    एमालेभित्र अहिले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल (७०), उपाध्यक्षहरू सुवास नेम्वाङ (७१), अष्टलक्ष्मी शाक्य (७०), युवराज ज्ञवाली (७०) उमेरका छन् । ६८ वर्षीय उपाध्यक्ष रामबहादुर थापा बादल र ७० उमेर कटिसकेका मुकुन्द न्यौपाने पनि प्रतिस्पर्धी बन्न सक्नेछन् ।

    एमालेमा फर्किने तयारीमा रहेका वामदेव गौतम ७४ वर्षका छन् । अर्को महाधिवेशनसम्म उनीहरू सबै झन्डै ८० वर्षको छेउछाउमा पुग्ने छन् ।

    एमालेभित्र उपाध्यक्षद्वय विष्णु पौडेल र सुरेन्द्र पाण्डे तथा महासचिव शंकर पोखरेललाई भावी अध्यक्षका रूपमा हेरिएको छ ।

    उपमहासचिवहरू प्रदीप ज्ञवाली (६१), पृथ्वीसुब्बा गुरुङ (६६) र विष्णु रिमाल नै ६१ वर्षका भइसके। सचिवहरू योगेश भट्टराई (५७), गोकर्ण विष्ट (५८), रघुवीर महासेठ (६२), छविलाल विश्वकर्मा (६१) पद्मा अर्याल (५५) र लेखराज भट्ट (६४) वर्षका छन् ।

    अर्को महाधिवेशनले उमेरहद हटाए भट्टराई, विष्ट, महासेठसहित महासचिव र उपाध्यक्षका दाबेदार सचिव तहका नेताहरूको नेतृत्व विकासमा समेत असर पर्नेछ ।

    उनीहरूभन्दा युवा नेताको पालो कहिले आउने हो भन्ने ठेगान छैन । त्यसैले एमाले अर्को निर्वाचनका बेला वृद्ध पार्टीमा रुपान्तरण हुने सम्भावना धेरै छ ।

    केहीअघिसम्म ओली कांग्रेसलाई वृद्ध पार्टी भनेर जिस्क्याउँथे, अहिले उनकै पार्टी वृद्धवृद्धाको पार्टी बनिसकेको छ । कांग्रेसको सभापति र उपसभापति एकजनाबाहेक सबै पदाधिकारी युवा नै छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend