काठमाडौं - बालुवाटारको ललिता निवास काण्डले धेरै हाइप्रोफाइललाई जेलको चिसो छिँडीमा बास गराउने संकेत देखिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पुनः ललिता निवासको फाइल खोलेर अनुसन्धान अघि बढाएपछि नक्कली भुटानी शरणार्थी प्रकरणले जस्तै यो काण्डले पनि तरंग सिर्जना गरेको छ ।
कसैले अत्तोपत्तो नपाई सीआईबीले पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह र भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङलाई पक्राउ गरेपछि यो काण्डमा संलग्न रहेका सबैको मुटुमा ढ्यांग्रो बजेको छ ।
ललिता निवासको सरकारी जग्गा धेरैले व्यक्तिको नाममा सारेका छन् । सीआईबीका अनुसार १४३ रोपनी जग्गा व्यक्तिको नाममा सारिएको छ ।
जुन जग्गा व्यक्तिको नाममा पार्ने र किनबेच गर्ने सबै जेलमा पुग्ने देखिएको छ । बालुवाटार जग्गा काण्डमा माधवकुमार नेपाल, बाबुराम भट्टराई, विजयकुमार गच्छदार, पूर्वमन्त्ती डम्बर श्रेष्ठ, छविराज पन्त, न्यायाधीश कुमार रेग्मी, एमाले नेता विष्णु पौडेलका छोरा नवीन पौडेल, पूर्वअख्तियार प्रमुख दिप बस्न्यातलगायत पर्ने भएका छन् ।
अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी गरिएको छ । जिल्ला अदालत काठमाडौँले बस्न्यातलाई पक्राउ गर्न अख्तियारलाई अनुमति दिएको हो ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार बस्न्यात फरार छन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान भू–माफियासँग मिलेर बस्न्यातले पनि सरकारी लिखत किर्ते गरेको आरोप छ ।
भूमिसुधार मन्त्रालयको सचिव हुँदा उनले ललिता निवाससम्बन्धी पटक–पटक पत्राचार र निर्णय गरेका थिए । विशेष अदालतको आदेशले डिल्लीबजार कारागारमा थुनामा रहेका बन्स्यातको निवेदनका आधारमा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले उनी थुनामुक्त भएका थिए ।
मुटुरोगी भएको र कोरोना जोखिमका कारण भन्दै उनले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । सर्वोच्च अदालतले उनलाई धरौटीमा छाड्न आदेश गर्दै भनेको थियो– ‘मन्त्रिपरिषद्को पूर्व निर्णय र निर्देशन बमोजिम मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने सन्दर्भमा सचिवको हैसियतले विभागीय मन्त्री समय फायल पेश गर्नेसम्मको कार्य गरेको देखियो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।