काठमाडौं - माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । गृह मन्त्रालयको चावी पनि उनकै दलसँग छ।
नारायणकाजी श्रेष्ठ गृहमन्त्री छन् । चुनावमा खिइँदै खिइँदै गएको माओवादीलाई जसरी पनि भोट बढाउनु छ ।
त्यही भएर अहिले सत्ताको प्रयोग गर्दै आफूविरोधीको ठेगान लगाउने अभियानमा प्रचण्ड र नारायणकाजी लागेका छन् ।
माओवादी शान्तिपूर्ण राजनीतिमा आएदेखि नै हो मिनबहादुर गुरुङको आर्थिक हैसियत बढेको छ । पूर्वप्रधानसेनापति छत्रबहादुर गुरुङका सम्धी मिनबहादुरले दश वर्षे कथित युद्धकालमा माओवादीले जम्मा गरेको पैसा चलाएको समाचार त्यतिबेला प्रकाशित भएका थिए ।
मिनबहादुरको हाइट बढाउनुमा प्रचण्डको भूमिका धेरै रहेको बताइन्छ । अहिले प्रचण्ड प्रधानमन्त्री भएकै बेला उनी पक्राउ पर्नुमा पहिलेकै हिसाबकिताब नमिलेको स्रोतले बतायो ।
मिनबहादुरलाई ललिता निवास जग्गा प्रकरणमा मंगलबार पक्राउ गरिएको हो । यसअघि पनि उनी पक्राउ परेका थिए । ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जमिन हिनामिना प्रकरणमा मुछिएका गुरुङलाई यसअघि विशेष अदालतले धरौटीमा रिहा गरेको थियो ।
न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई २०७७ सालमा दुई करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
अख्तियारले गुरुङसँग ५० करोड ४७ लाख रुपैयाँको बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएको एक वर्षपछि उनी अदालतमा उपस्थित भएका थिए ।
सरकारी जग्गा हडप्नकै लागि गुरुङले भूमाफियाहरुसँग सम्पर्क बढाएर ललितानिवासको जमिन सस्तोमा किनेका थिए । गुरुङले त्यसलाई प्लटिङ गरी व्यापारिक घरानासहित विभिन्न व्यक्तिलाई बेचेका थिए ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारमा बसिसकेका तत्कालीन कर्मचारीहरूलाई पनि मंगलबार नियन्त्रणमा लिएको छ ।
मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसीलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।