काठमाडौं - एकैदिन मध्यराति देशका दुई उपप्रधानमन्त्री विदेश यात्रामा निस्किएका छन् ।
नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र माओवादी उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ विदेश उडेका हुन् ।
मंगलबार मध्यराति उपप्रधान तथा रक्षामन्त्री खड्का ओमानको राजधानी मस्कट प्रस्थान गरेका छन् । उनी राति पौने ११ बजे काठमाडौंबाट ओमान एअरको उडानमा मस्कटतर्फ प्रस्थान गरेका हुन् ।
टोलीमा पूर्वमन्त्री रघुवीर महासेठ, श्रम मन्त्रालयका सहसचिव रामचन्द्र ढकाल छन् । त्यसैगरी आभाषकुमार लभ, लक्ष्मी पौडेल, सुशिलप्रसाद आचार्य, सरोजप्रसाद दाहाल, सुवास थापा र रुपक लामिछाने पनि मन्त्रीसँगै मस्कट गएका हुन् ।
मन्त्रीलाई बिदाइ गर्न प्रधान सेनापति प्रभुराम शर्मा, सहायक रथी नारायण सिलवाल राति विमानस्थल पुगेको बुझिएको छ । गृहमन्त्री श्रेष्ठ मंगलबार राति चीनको सिचुवान प्रान्तको छन्तु गएका छन् ।
सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पाँच दिने भ्रमणमा निस्केका हुन् । उनी मध्यरात १२ बजे हङकङ गएका हुन् ।
क्याथे प्यासिफिकको उडान नम्बर सीएक्स ६४० मा मन्त्रीसँगै परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, अंगरक्षक प्रहरी नायव निरीक्षक बाबुराम खनाल चीन उडेका हुन् ।
मन्त्री श्रेष्ठ छन्तुलाई आयोजित ‘पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ को उद्घाटन समारोहमा विशेष अतिथि बनाइएको छ । भ्रमणको क्रममा उनले चिनियाँ कम्युनिष्ट पार्टीको सिचुवान प्रान्तका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।
श्रेष्ठको बिदाइका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चीनका राजदूत छन् सोङ, गृहसचिव दिनेश भट्टराई, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी महानिरीक्ष वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापालगायत पुगेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।