काठमाडौं - एमाले विभाजन गरेको दुई वर्षभित्रै माधवकुमार नेपालको राजनीतिक भविष्य भुत्ते बन्दै गएको छ ।
विस्तारै उनको सान्दर्भिकता हराउँदै जान थालेको छ । २०७८ भदौमा नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेका थिए । पार्टी विभाजनपछि एमालेले निर्वाचनमा केही असर भोगे पनि दोस्रो ठूलो बन्न सफल भयो ।
तर १० जना प्रतिनिधिसभा सदस्य जिताएर पार्टीको साख राखे पनि अहिले नेपाललाई उनकै पार्टीमा कसैले गन्न छाडेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिपछि लाग्दा उनलाई नेता झलनाथ खनालले मात्र होइन, राजेन्द्र पाण्डेले समेत हुँकार दिन सक्ने भएका छन् ।
जबकि कुनै समय माधव नेपाल एमालेको १५ वर्षसम्म नेतृत्व हाँक्ने नेता हुन् । त्यसबेला केपी ओली, झलनाथ खनाल, वामदेव गौतम सबै माधव नेपालको अन्डरमा थिए ।
अहिले आफ्नो राजनीतिक साख गिराउँदै गएका माधव नेपालले पार्टी पनि सग्लो बचाउन नसक्ने अनुमान गर्न थालिएको छ । केही दिनअघि उनको पार्टीबाट मुकुन्द घिमिरे, केदार घिमिरे, चुडामणि जंगली निस्केर हिँडे ।
उनीहरू एमाले प्रवेश गरिसकेका छन् । उनीहरूको काम अहिले एकीकृत समाजवादीका नेता सांसद भड्काउने रहेको छ । चाँडै सचिव रामकुमारी झाँक्रीले पनि एकीकृत समाजवादी छाड्ने चर्चा चलेको छ ।
दुई वर्षअघि झाँक्रीकै दबाबमा माधव नेपालले निर्वाचन आयोग पुगेर एकीकृत समाजवादी पार्टी दर्ता गराएका थिए । तर डेढ वर्षमै दुईबीच किन सम्बन्धमा तिक्तता आयो भन्ने धेरैले भेउ पाउन सकेका छैनन् ।
एमाले शीर्ष नेतृत्व नै माधवबाहेक सबैलाई पार्टीमै फर्काउन लागिपर्नु तर माधवको सक्रियता कम देखिँदै जानुले उनी नेपालको राजनीतिमा भुत्तै सावित बन्दै जान थालेको अनुमान गरिएको हो ।
अझ एमालेले माधव नेपालले पार्टी प्रचण्डमा विलय गराउने भनेर प्रचार गरिदिएपछि उनी साँच्चिकै ठूलो संकटमा परेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।