काठमाडौं - जेठ ३० गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार राति फर्कने कार्यक्रम तय थियो ।
तर अझै एक दुई दिन उतै रहने भएका छन् । आँखा र पेटसम्बन्धी उपचारका लागि उनी श्रीमती आरजु देउवासँग सिंगापुर गएका थिए । देउवा विदेश गएको १० दिनमा नेपालमा धेरै उतारचढाव आइसकेको छ ।
पार्टीका प्रभावशाली केन्द्रीय सदस्य बालकृष्ण खाँण जेल चलान भएका छन् । सत्तारुढ दलकै नेताहरूले समाजवादी मोर्चा गठन गरेका छन् । कांग्रेसको महिला संघ र प्रचार विभाग विस्तार भएका छन् ।
तर संघीय संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट पास हुने नहुने भन्ने अन्योल देखिएको छ । त्यसैले सिंगापुरबाट फर्केलगत्तै देउवाले सरकार र पार्टीका विषयमा महत्वपूर्ण निर्णय लिनसक्ने अनुमान गर्न थालिएको छ ।
देउवाले सिंगापुरबाट फर्केलगत्तै थाती रहेका काम सक्ने योजना बनाएको निकट नेताहरू बताउँछन् । विदेशबाट फर्केपछि देउवाले नीति अधिवेशनको घोषणादेखि नक्कली शरणार्थी प्रकरणमा जोडिएका खाणलाई केन्द्रीय सदस्यबाट निलम्बनसम्मको तयारी गरेका छन् ।
केन्द्रीय समिति बैठकअघि भ्रातृ संस्थाका तदर्थ समिति, विभाग गठन र बाँकी नियुक्तिको टुंगो लगाउने उनको तयारी छ । कांग्रेसका एक नेताका अनुसार देउवा दबाब कम गर्न र इतर समूहको असन्तुष्टि साम्य बनाउने मनस्थितिमा छन् ।
उनले अदालतको आदेश पर्खेर बसेका थिए । अब बाटो खुलेकाले खाणबारे महत्वपूर्ण निर्णय लिने देउवाको तयारी छ । खाणलाई निलम्बनका लागि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासहित इतर समूहका नेताले दबाब दिँदै आएका छन् ।
उपसभापति पूर्णबहादुर खड्काले असार मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक सक्ने गरी तयारी भएको बताइसकेका छन् । देउवा स्वदेश फर्किएसँगै नेविसंघ, तरुण दलसहितका भ्रातृ संस्थाको तदर्थ समितिलाई पूर्णता दिने र विभाग गठनलगायत काम गर्ने र र केन्द्रीय समिति बैठक बोलाउने तयारी रहेको निकट नेता बताउँछन् ।
अर्कोतिर एमाले र कांग्रेसबीच नयाँ सत्ता समीकरणको हल्ला पनि देउवाको स्वदेश आगमनसँगै प्रस्ट पार्ने तयारी भएको छ । धेरैले देउवा सिंगापुर जानुको उद्देश्य नयाँ सत्ता समीकरण बनाउन भएको आशंका गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।