काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही दिनअघि प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मुटु चेक गर्छु भनेका थिए ।
नक्कली शरणार्थी प्रकरणमा छानबिन गर्दा प्रधानमन्त्री डराएकाले उनको मुटु कमजोर हुन सक्ने भन्दै आफूले मुटु चेक गर्न चाहेको बताएका थिए । तर उनले त्यसो भनेको एक महिना नबित्दै रवि आफैंले संसदमा आत्मालोचना गरेका छन् ।
संसदमा भइरहेका पछिल्ला गतिविधि र त्यसमा आफू र आफ्ना सांसदका अमर्यादित टिप्पणीप्रति रविले आत्मालोचना गरेका हुन् । उनले प्रधानमन्त्री प्रचण्डमाथि पार्टीका सांसदले गरेको टिप्पणी दुःखद रहेको भन्दै त्यसका लागि आफू लज्जित पनि भएको उल्लेख गरे ।
बिहीबार बजेटमाथिको छलफलमा भाग लिँदै उनले संसदीय मर्यादामा आँच आउने गरी भएको बहसका लागि माफी मागेका छन् । उनले संसदीय मर्यादाको ख्याल गर्न सबैलाई आग्रह गरे ।
संसदमा राँगा र भैंसीकै कुरा गर्ने हो भने पाँच वर्षपछि जनतामा मुख देखाउन नसकिने बताएका छन् । प्रतिनिधिसभाको जेठ २२ को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको विषयमा प्रश्न सोध्ने क्रममा रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्री भारतबाट प्लेन चढेर पोखरा विमानस्थलमा अवतरण नगरी ‘प्रधानमन्त्री भैँसी चढेर पो आउनु भो’ भन्ने भनेका थिए ।
सभामुख देवराज घिमिरेले भैंसी चढेर भन्ने शब्द संसद्को रेकर्डबाट हटाउन लगाएका थिए । आफ्नो पार्टीका सांसदले बोलेका कुरा रेकर्डबाट हटाउने हो भने प्रधानमन्त्रीले बोलेका कुरा पनि हटाउनुपर्ने भन्दै आक्रोश व्यक्त गरेका थिए । लामिछानेले आफ्नो पार्टीको तर्फबाट भएका त्यस्ता अभिव्यक्तिका लागि माफी मागेका हुन्।'
‘संसद्को मर्यादा राख्न चुकिरहेका त छैनौं ? यसमा ध्यानाकर्षण गराउन चाहन्छु । हामी नयाँ राजनीतिक दलका हिसाबमा चाहे ती हाम्रा पक्षबाट आएका विषय हुन् त्यसप्रति हामी कहीँ न कहीँ लज्जित भएका छौं,’ उनले भने, ‘यो सदन भैँसी, राँगाको विषयमा गफ गरेर पाँच वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौं ।'
लामिछानेले संसदमा भइरहेका बहसले जनतामा राम्रो सन्देश नगएको पनि बताए । ‘बजेट र राष्ट्रका महत्त्वपूर्ण विषयमा कुरा गरिरहँदा, आमसर्वसाधारणमा संसद्बाट राम्रो सन्देश गएको छैन । म आफ्नो भागमा परेको जुन दुःख छ जिम्मेवार हुन चाहन्छु । केही दिनअघि भएका कुरा अमर्यादित भएकोमा क्षमा चाहन्छु,’ उनले भने ।
लामिछानेले आफ्नो पार्टी नागरिकता विधेयकको विपक्षमा नभएको स्पष्ट पार्दै विरोधमा रहेको भाष्य प्रमाणित गर्न लागिपरेको भन्दै दुःख व्यक्त गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।