काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशनबाट पार्टीमा नेतृत्व हस्तान्तरण हुने बताएका छन् ।
आफूविरुद्ध पार्टीमा आवाज बढ्दै गए पनि मौनता साँध्दै आएका उनले शनिबार फेरि सभापतिमा आफ्नो दाबी नरहने बताएका हुन् ।
देउवाको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आवश्यकता रहेको भन्दै अभियान सुरु गरेपछि उनले अब सभापति नबन्ने घोषणा गरेको बताउन थालिएको छ ।
त्यसो त कांग्रेस विधानको व्यवस्थाले नै देउवालाई फेरि सभापति बन्ने बाटो दिँदैन । विधानको दफा ५७ मा सबै तहका सभापतिलाई दुई कार्यकालभन्दा बढी सोही पदमा दोहोरिन नपाउने व्यवस्था गरेको छ ।
‘पार्टीको सबै तहको कार्यसमितिको सभापति निरन्तर रूपमा दुई पदावधिभन्दा बढी सोही पदमा उम्मेदवार हुन पाउनेछैन,’ विधानको व्यवस्थाले भन्छ ।
देउवाले विभिन्न भेटघाटमा ‘पार्टीमा यस्तै अवस्था रहे विधान संशोधन गरेर पनि फेरि मै सभापति बन्नुपर्लाजस्तो छ’ भन्ने गरेका थिए ।
तर अहिले सार्वजनिक रूपमै देउवाले अब म सभापति बन्दिनँ भन्ने कुरालाई लिएर कांग्रेसमा विभिन्न अड्कलबाजी गर्न थालिएको छ ।
‘तीनै तहको निर्वाचनमा कांग्रेस ठूलो पार्टी बनेको छ । नेविसंघ स्ववियु निर्वाचनमा पहिलो बनेको छ । अब यसलाई अगाडि बढाउनुछ । अझै बलियो बनाउनुछ । पार्टीमा अब तपाईंहरू हुने हो, मेरो त के छ र ? काम गर्नुस्, पार्टी बलियो बनाउनुस । काम गर्नुपर्ने बेला एकअर्कालाई विरोध गरेर पार्टी बन्दैन,’ उनले भने, ‘नेतृत्वलाई गाली गरेर केही हुनेवाला छैन ।
पार्टी बनाउन जनतामा जानुपर्छ,’ शनिबार कांग्रेस ललितपुरको जिल्ला सम्मेलनमा देउवाले भने, ‘अहिलेको वेला पार्टीलाई मजबुत बनाउने हो । सबैभन्दा ठूलो पार्टी बनाइहालेँ । अधिकांश क्याम्पसमा हामीले जितेकै छौँ । भोलिका दिनमा पार्टीलाई अझै बलियो बनाउनुछ । मैले त सहयोग गर्ने हो । म पार्टी सभापति हुने होइन । अहिले सबै एक भएर गएमा हाम्रो पार्टी बलियो हुन्छ ।’
१४औँ महाधिवेशनपछि देउवाले पार्टीको भावी नेतृत्वबारे औपचारिक मुख खोलेका हुन् । पछिल्लो समय सभापति देउवाको कार्यशैलीको विषयमा महामन्त्री थापा आक्रामक रूपमा प्रस्तुत हुने गरेका छन् ।
थापाले सभापतिले हरेक महत्वपूर्ण निर्णयमा एकाधिकार हुने गरेको र अब सहन नसकिने बताउँदै आएका छन् । महामन्त्री शर्मा पनि सभापतिको कार्यशैलीप्रति असन्तुष्ट छन् र महामन्त्री थापासँगै निर्णायक संघर्ष गर्नुपर्ने पक्षमा छन् ।
महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनका लागि दबाब बढाउने संकेत गर्दै आएका छन् । यसबारे आन्तरिक गृहकार्यसमेत भइरहेको निकट नेताहरू बताउँछन् । महामन्त्री थापाले सभापति पार्टीमा एकाधिकारविरुद्ध अभियानमा लागेको आरोप लगाउँदै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।