काठमाडौं - टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भुक्तान गरेका रेशमलाल चौधरी राष्ट्रपतिबाट आममाफी पाएर छुटेकामा नेपाली समाज विभाजन भएको छ ।
अदालतले नै सजाय तोकिसकेको अभियुक्तलाई राष्ट्रप्रमुखबाट आममाफी दिलाएर छुटाउनु संविधान र प्रचलित कानुनको बर्खिलाप भएको टीकाटिप्पणी भइरहेको छ ।
नेपाली कांग्रेस, एमालेलगायतका दलका नेताहरूले यसप्रति आपत्ति जनाएका छन् । तर शीर्ष नेताहरू मौन छन् । रेशम रिहाइलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई धार देखिएको छ ।
रास्वपाका सभापति रवि लामिछानेले आममाफी पाएर जेलमुक्त भएका चौधरीको रिहाइले आफूलाई खुसी लागेको बताएका छन् ।
उनले चौधरीको रिहाइले आफू खुसी भए पनि छुटाउने प्रक्रियाप्रति भने असन्तुष्टि जनाए । आममाफी दिएर छुटाइएकाले चौधरीले न्याय नपाएको उनको भनाइ छ ।
‘रेशम चौधरी निर्दोष छन् भन्ने विश्वासका साथ हाम्रो पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको थियो । छुट्नुभयो, ठीक छ’, उनले भने, ‘तर जुन प्रक्रियाबाट छुटाइयो त्यसले उहाँमाथि न्याय भएन उहाँको रिहाइ विजय होइन, त्यो बाँकी नै छ’, उनले सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग भने ।
तर रास्वपाका तोसिमा कार्की, डीपी अर्याल, गणेश कार्कीलगायतका नेताहरू भने रेशम चौधरीको रिहाइप्रति खुसी छैनन् ।
अदालतको निर्णयलाई मन्त्रिपरिषद्ले चुनौती दिएर राष्ट्रपतिमार्फत आममाफी दिएर छुटाउनु जंगली राज भएको उनीहरूको तर्क छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।