काठमाडौं - सात प्रदेशमध्ये कोसीमा एमाले नेतृत्वको सरकार छ । केन्द्रमा समीकरण फेरिए पनि माओवादी र जसपा अझै एमालेकै सरकारमा रहेकाले कांग्रेसले आपत्ति जनाएको छ ।
कांग्रेसले माओवादी र जसपालाई सरकारबाट बाहिरिन दबाब दिइसकेको छ । मधेस प्रदेशमा एमाले सरकारबाट बाहिरिएको छ । केन्द्रको समीकरणअनुसार एमालेले सरकार छाडेको हो ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादी सरकारमा जाँदैछन् । हाल जसपा नेतृत्वको सरकार छ । केही दिनदेखि त्यहाँ पनि सरकारको नेतृत्व नै फेरबदलको गृहकार्य भइरहेको छ ।
लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बने पनि सरकारले पूर्णता पाएको छैन । पछिल्लोपटक गठन भएको गण्डकी प्रदेश सरकारले भने पूर्णता पाइसकेको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अहिले बजेट ल्याउने तयारीमा लागेका छन् । प्रदेशमा कांग्रेस र माओवादीको मात्रै मन्त्री नियुक्त भएका छन् ।
कर्णालीमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री छन् । यहाँ पनि कांग्रेस र माओवादीका मात्रै मन्त्री नियुक्त भएका छन् । प्रदेशमा कांग्रेस सबैभन्दा ठूलो दल हो । सबैभन्दा अस्थिर बनेको सुदूरपश्चिम प्रदेश सरकारले भने अब पूर्णता पाउने देखिएको छ ।
अहिलेसम्म प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीका मन्त्री मात्रै नियुक्त भएका थिए । अब माओवादी र नागरिक उन्मुक्ति पार्टी पनि सहभागी हुने भएका छन् ।
माओवादीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । दुई मन्त्रालय पाएको माओवादीले सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिएर झपट साउद र रमेश धामीलाई सरकारमा पठाउने भएको हो ।
माओवादी संसदीय दलका नेता खगराज भट्टका अनुसार माओवादीकै गीता माललाई राज्यमन्त्री बनाउने तयारी भइरहेको छ । उनीहरुको शपथ ग्रहण शुक्रबार नै गर्ने तयारी भइरहेको भट्टले बताए ।
तत्कालीन एमाले नेतृत्वको सरकार ढलेपछि माघ २६ गते कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका थिए । बागमतीमा आइतबारभित्रै सरकारले पूर्णता पाउने भएको छ ।
कांग्रेसले पाँच, माओवादीले मुख्यमन्त्रीसहित चार र एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने गरी सहमति भएको छ । कांग्रेसले ६ मन्त्रालयमा दाबी गर्दै आएको थियो ।
तर, एकीकृत समाजवादीले दुई मन्त्रालय नछाड्ने अडान राखेपछि हाम्रो नेपाली पार्टीलाई तत्काल सरकारमा सहभागी नगराइने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।