काठमाडौं - बारा २, चितवन २ र तनहुँ १ मा आज उपचुनाव हुँदैछ ।
बिहान ७ बजेदेखि नै मतदान जारी छ । तर तीनवटै निर्वाचन क्षेत्रका चर्चित उम्मेदवारहरू मतदान गर्नबाट वञ्चित भएका छन् । आफ्नो मतदाता नामावली नभएको निर्वाचन क्षेत्रबाट उठेकाले उनीहरूले आफूले आफैंलाई मतदान गर्न नपाउने भएका हुन् ।
बारा २ मा जसपा उम्मेदवार उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल र एमाले उम्मेदवार पुरुषोत्तम पौडेल आफैंलाई मतदान गर्न नपाउने भएका हुन् । यादव सप्तरी २, खरेल काठमाडौं १ र पौडेल बारा ३ का मतदाता हुन् ।
त्यसैले यी तीनवटै उम्मेदवारलाई त्यहाँ टुरिस्ट उम्मेदवार भन्ने गरिएको छ । चितवन २ मा पनि रास्वपाका उम्मेदवार रवि लामिछाने र एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले आफूलाई मतदान गर्न पाउने छैनन् ।
कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने मत हालेका छन् । रवि काठमाडौं ४ र न्यौपाने चितवन ३ का मतदाता हुन् । केही समयअघि रविले भरतपुरमा घर किनेका छन् । तर उनले मतदाता नामावली सारेका छैनन् ।
त्यही भएर उनले मत हाल्न नपाएका हुन् । न्यौपाने चितवन ३ का मतदाता हुन् । मंसिरको निर्वाचनमा न्यौपाने ३ बाट उठेका थिए । तर पार्टी अध्यक्ष केपी ओलीले उनको उम्मेदवारी खोसिदिएका थिए ।
तनहुँ १ का रास्वपा र एमालेका उम्मेदवारले नै आफूलाई मत हाल्न पाउने छैनन् । रास्वपाका स्वर्णिम वाग्ले चितवन र एमालेका सर्वेन्द्र खनाल काठमाडौं ६ का मतदाता हुन् ।
कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई तनहुँ १ कै मतदाता हुन् । उनले आफूलाई मत हाल्न पाउने भएका छन् । कांग्रेसबाहेक सबै टुरिस्ट उम्मेदवार हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।