काठमाडौं - वैशाख १० गते हुने बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको प्रचारप्रसार आज बिहीबार मध्य्रातिबाट सकिँदैछ । शुक्रबारदेखि मौन अवधि सुरु हुँदैछ ।
यतिबेला तीनवटै निर्वाचन क्षेत्रमा कसले जित्ला भन्ने चासो सर्वत्र देखिएको छ । बारामा जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
यादव गठबन्धनका साझा उम्मेदवार भए पनि सप्तरी २ मा सिके राउतसँग पराजित भएको र पाँच महिनामै संसद् छिर्न खोजेको भन्दै बारामा असन्तुष्टि देखिएको छ । जसको फाइदा जनमतका कुशवाहाले उठाउने देखिएको छ ।
बारा २ मा एमालेका पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल पनि चुनावी मैदानमा छन् । रास्वपाका खरेलको प्रचार प्रसार बढी भए पनि उनी चौथो हुने विभिन्न मत सर्वेक्षणले देखाएका छन् । मंसिरमा भएको निर्वाचनमा यो क्षेत्रमा जसपाका उम्मेदवार रामसहायप्रसाद यादव विजयी भएका थिए ।
उनी अहिले उपराष्ट्रपति छन् । सोही कारण उपचुनाव हुन लागेको हो । त्यसबेला जसपाले समानुपातिकतर्फ १३ हजार २४२ मत, कांग्रेसले ११ हजार १७९ मत, एमालेको नौ हजार १९३ मत थियो। चौथोमा जनमत पार्टीको आठ हजार ८४६ मत, पाँचौंमा लोसपाले चार हजार २२५ मत, माओवादीले तीन हजार २५६ मत पाएका थिए ।
बारा २ मा सत्ता गठबन्धनका तीनै दल कांग्रेस, माओवादी र लोसपाले जसपालाई सघाएका छन्। जसपासहित यी तीनै दलको समानुपातिक मत जोड्ने हो भने ३१ हजार नौ सय दुई मत हुन्छ। जबकि जनमत पार्टीको करिब नौ हजार मात्रै मत छ।
मंसिरको निर्वाचनमा जसपाबाटै बागी उठेर ११ हजार ४३ मत ल्याएका रामकिशोरप्रसाद यादव र कांग्रेसबाट असन्तुष्टि जनाउँदै उम्मेदवार बनेर १० हजार ७५० मत ल्याएका रवीन्द्रप्रसाद यादवले यसपालि उपेन्द्र यादवलाई नै समर्थन गरेका छन्।
तर सिके राउतका कारण मत बाँडिने सम्भावना पनि उत्तिकै छ । उनी अहिले बारामा अड्डा जमाएर बसेकाले उपेन्द्रलाई धेरै भारी पर्ने देखिएको छ । पहिले जसपाका यादवसँग हारेका कुशवाहको छवि राम्रो भएकाले पनि उनले जित्ने धेरे सम्भावना छ ।
उता, चितवन २ मा पनि यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नै जित्ने सम्भावना देखिएको छ । मंसिरको निर्वाचनमा लामिछाने भारी मतान्तरले विजयी भएका थिए। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए ।
लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ र एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६४९ मत ल्याएका थिए । रास्वपाले समानुपातिक मत ३२ हजार पाएको थियो ।
यसपटक चितवन २ मा मंसिरको जति मत खस्ने सम्भावना भने छैन । कांग्रेस तथा एमालेका उम्मेदवार क्रमशः जितनारायण श्रेष्ठ र रामप्रसाद न्यौपानेले मत प्रतिशत बढाए पनि रविको क्रेजमा कुनै कमी आएको भने देखिएको छ ।
नागरिकता र राहदानी विवाद, सांसद पद खारेज, सरकारमा गएपछि आर्थिक अनियमितता, रास्वपामा देखिएको दुई करोड बार्गेनिङ काण्ड, गृहमन्त्री भएकै तेस्रो दिन राष्ट्रिय परिचयपत्रमा १० अर्ब कमिसन कमाउन खोजे पनि रविको चितवनमा लोकप्रियता घटेको छैन । तर मतदाताले उनीसँग प्रश्न गर्न भने थालेका छन् । नेपाली कांग्रेसले बागी र अन्तर्घातीलाई गरेको कारबाही फिर्तालगायतले पहिले रविलाई गएको मत भने फिर्ता हुने कांग्रेस नेताहरूको बुझाई छ ।
रविले पहिले भरतपुर महानगरपालिकाका १० वटा वडामा भारी मत प्राप्त गरेका थिए । कालिका नगरपालिका र इच्छामनोकामना गाउँपालिकामा भने रविले त्यति धेरे मत पाएका थिएनन् । तर यसपटक रास्वपाले कालिका र इच्छामनोकामनामा मत तान्न चामलका बोरा र पैसा वितरण गरिरहेको कांग्रेस र एमालेका कार्यकर्ताको आरोप छ ।
यसपटक महानगरपालिकाबाटै रविलाई भने उल्लेख्य मत नआउने देखिएको छ । कांग्रेस र एमालेका केन्द्रीय नेताहरूको प्रचार प्रसार र घरदैलो गरेका कारण रविले पहिले पाएको भोट भने घट्ने निश्चित छ । कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका युवा नेताहरू चितवन २ मा जितनारायण श्रेष्ठलाई भोट माग्न खटिएका छन् । तर पनि मंसिरमा कांग्रेस र एमालेका उम्मेदवारभन्दा ३४ हजार मत बढी ल्याएकाले रवि ढुक्क देखिएका छन् ।
यस्तै, तनहुँ १ मा भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई नै विजयी हुने सम्भावना धेरै छ । यो क्षेत्र नेपाली कांग्रेसको गढ हो । २०७४ को निर्वाचनबाहेक अहिलेसम्म कांग्रेस यो निर्वाचन क्षेत्रमा पराजित भएको छैन । ०७४ मा एमाले र माओवादी गठबन्धन भएकाले कांग्रेसका रामचन्द्र पौडेल झिनो मतान्तरले पराजित भएका थिए । मंसिरको आमनिर्वाचनमा यहाँ करिब पाँच हजार मतले हार–जितको फैसला भएको थियो।
कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल २५ हजारभन्दा बढी मत ल्याएर विजयी भएका थिए । उनका निकट प्रतिद्वन्द्वी एमालेका एकबहादुर मगरले झन्डै २० हजार मत ल्याएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए। तनहुँ १ मा व्यास र भानु नगरपालिका, बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका पर्छन् । यसपटक कांग्रेसका उम्मेदवार भट्टराईलाई माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र जसपाको समर्थन छ । एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट डा.स्वर्णिम वाग्ले उम्मेदवार छन् । खनाल मंसिरको निर्वाचनमा काठमाडौं ६ मा पराजित भएका व्यक्ति हुन् ।
वाग्ले भने चैत १६ गते कांग्रेस छाडेर रास्वपामा प्रवेश गरी उम्मेदवार बनेका हुन् । त्यसैले वाग्लेले कांग्रेसको ४० प्रतिशत मत काट्छन् भनेर भ्रमपूर्ण प्रचार गरिएको छ । कांग्रेसबाट दुई दुईपटक राष्ट्रिय योजना आयोगमा नियुक्ति भएर चर्चित बनेका वाग्ले कांग्रेस उम्मेदवार भट्टराईका मुख्य प्रतिस्पर्धी भने हुने देखिएको छ । एमालेले स्थानीय उम्मेदवारलाई नउठाएकाले त्यसको फाइदा वाग्लेलाई हुने देखिन्छ ।
तर पनि उनले जित्ने पर्याप्त मत भने पाउने देखिएको छैन । तर अहिले एमालेको ५० प्रतिशत र कांग्रेसको ४० प्रतिशत मत बाँडिने भन्दै गोयबल्स शैलीले रास्वपाले भ्रमपूर्ण प्रचार गरिरहेको छ ।
अघिल्लो निर्वाचनमा तनहुँमा कांग्रेसबाट असन्तुष्ट बन्दै उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार आठ सय ८६ मत ल्याएका थिए । तर यसपटक जोशी समूह तठस्थ बस्दै आएको छ । उसले अहिलेसम्म कसैलाई समर्थन गरिसकेको छैन । तर रास्वपाले यसपालि जोशी समूहले आफूलाई समर्थन गर्ने भनेर प्रचार गरिरहेको छ । कांग्रेसले २०७९ को निर्वाचनका बागी र अन्तर्घाती नेता कार्यकर्ताको कारबाही फिर्ता गरिसकेकाले जोशी समूहको मत कांग्रेसका उम्मेदवार भट्टराईले पाउने अवस्था छ ।
कांग्रेस उम्मेदवार भट्टराई आफैं पनि लोकप्रिय छन् । नेविसंघको पूर्वअध्यक्ष, तरुण दलको महासचिव भइसकेका भट्टराईले इमान्दार नेताको छवि बनाएका छन् । अवसर नै नपाए पनि अहिलेसम्म तनहुँका विकास र खानेपानीको संकट निवारण गर्न उनले खेलेको भूमिका कारण मतदाताले न्याय गर्ने कांग्रेस नेता कार्यकर्ताको विश्वास छ । राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र भएकाले पनि तनहुँ १ कांग्रेसका लागि प्रतिष्ठाको विषय बनेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।