काठमाडौं - बारा २, चितवन २ र तनहुँ २ मा उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम छ ।
तीनवटै क्षेत्रमा निर्वाचन कार्यालयसमेत स्थापना भइसकेको छ । आगामी वैशाख १० गते हुने निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारबाहेक सबै टुरिस्ट उम्मेदवार बनेका छन् ।
तीनवटै निर्वाचन क्षेत्रमा एमाले, जसपा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले आफैैले आफैंलाई भोट हाल्न पाउँदैनन् । बारा २ मा जसपाबाट उम्मेदवारी दिन लागेका उपेन्द्र यादव सप्तरीका हुन् । उनी त्यहाँ टुरिस्ट उम्मेदवार हुन् ।
उनी सप्तरी २ मा पराजित भएका थिए । बारा २ मै रास्वपाले उठाउन लागेका रमेश खरेल पनि काठमाडौंका हुन् । उनी काठमाडौं १ मा पराजित भएका व्यक्ति हुन् ।
चितवन २ मा उम्मेदवारी दिन लागेका रास्वपाका सभापति रवि लामिछानेले आफूलाई भोट हाल्न पाउँदैनन् । उनी मंसिर ४ गतेको निर्वाचनमा त्यही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । उनको मतदाता नामावली काठमाडौं ४ मा छ ।
त्यस्ते, रास्वपाबाट तनहुँ २ मा उम्मेदवारी दिन लागेका स्वर्णिम वाग्ले पनि फिरंगी हुन् । उनी चितवनका हुन् । एमालेले टिकट दिएका सर्वेन्द्र खनाल पनि तनहुँका लागि टुरिस्ट उम्मेदवार हुन् । उनको मतदाता नामावली काठमाडौंमा छ ।
उनी गत निर्वाचनमा काठमाडौं ६ मा रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न दलबाट असन्तुष्ट बनेर हिँडेका, ठाउँ नपाएका, पदलोलुपलाई पार्टीमा भित्र्याएर अरु दललाई चुनौती दिने योजना बनाएको छ ।
मंसिर ४ गतेको निर्वाचनमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रभित्रको असन्तुष्टिमा खेलेर भोट बटुलेको रास्वपाको वास्तविक परीक्षण आगामी वैशाख १० गते हुने तीन ठाउँको उपनिर्वाचनले गर्ने छ । उपनिर्वाचन हुन लागेका निर्वाचन क्षेत्रमध्ये चितवन २ अधिकांश सहरी क्षेत्रमा पर्छ ।
तनहुँ २ र बारा २ भने आधा सहरी र आधा ग्रामीण क्षेत्र हो । चितवन २ मा पनि ग्रामीण भेग नभएको होइन । ग्रामीण भेगबाट चितवन २ मा रवि लामिछानेलाई धेरै कम मत आएको थियो ।
तर जतिजति सहरी क्षेत्र आयो, त्यतित्यति रविको पक्षमा मत ओइरिएको थियो । अबको उपनिर्वाचनमा रविलाई कसरी मत खस्छ त्यसले नै आगामी दिनमा यो पार्टीको भूमिका निर्धारण गर्छ ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रविलाई चितवनको जेलमा तीन महिना नराखेको भए सायद उनको लोकप्रियता यो हदसम्म बढ्दैनथ्यो । त्यसबेला रवि पत्रकार थिए । पत्रकार भएकै कारण उनलाई चितवनवासीले माया गरे । तर निर्वाचन भएको पाँच महिनामै रवि लामिछानेको वास्तविक अनुहार सार्वजनिक भइसकेको छ ।
यसबीचमा कांग्रेसले आफ्नो भोट बैंक फर्काउन पूर्व जिल्ला सभापति विकास कोइराला र जगन्नाथ पौडेलमाथि गरिएको कारबाही फुकुवा गरेको छ । कोइरालाको फिर्ता नै भएको छ भने पौडेललाई सुध्रिने मौका दिइएको छ ।
यसले पनि कांग्रेसबाट चितवन २ मा उम्मेदवार बन्दै गरेका जितनारायण श्रेष्ठलाई धेरै राहत हुने देखिएको छ । एमालेले पनि स्थानीय उम्मेदवार रामप्रसाद न्यौपाने उठाएकाले मंसिर ४ गतेको भन्दा सुधार गर्ने अपेक्षा गरिएको छ । एमाले नेता गोकुल बास्कोटाले त यसपटक चितवनमा त्रिपक्षीय भिडन्त हुने भनेर घोषणा नै गरेका छन् ।
रास्वपाबाट तनहुँ २ र बारा २ मा उम्मेदवार बनेका क्रमशः स्वर्णिम वाग्ले र रमेश खरेल फिरंगी उम्मेदवार हुन् । सिके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई फिरंगी उम्मेदवार भनेर बारा जिल्लामा माहोल तताएका छन् ।
जुन भुंग्रोमा रास्वपाका उम्मेदवार खरेल पर्ने निश्चित छ । उनी काठमाडौं १ मा लज्जास्पद ढंगले कांग्रेसका नेता प्रकाशमान सिंहबाट पराजित भएका हुन् । रास्वपा बारा २ मा प्रतिस्पर्धामा पनि नआउने विभिन्न सर्वेक्षणले देखाएको छ । कांग्रेसमा पाउनुपर्ने अवसर पाएर हालै छाडेका स्वर्णिम वाग्ले गोरखाबाट बसाइँ सरेर चितवन पुगेका छन् ।
तर चितवनमै जित्ने अवस्था नभएपछि उनी तनहुँ पुगेका हुन् । तनहुँमा कांग्रेस सबैभन्दा बलियो पार्टी हो । कांग्रेसले शालिन, इमान्दार र नेविसंघका पूर्वअध्यक्ष गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।
केन्द्रीय सदस्य भट्टराईका अगाडि स्वर्णिम बलियो उम्मेदवार हुँदै होइनन् । कांग्रेसले मंसिर ४ गतेको निर्वाचनमा तनहुँ २ बाट २५ हजार मत प्रत्यक्ष र २० हजार मत समानुपातिकमा ल्याएको थियो ।
कांग्रेसबाट जितेका रामचन्द्र पौडेल राष्ट्रपति भइसकेका छन् । गोविन्दराज जोशीको कडा प्रतिरोधका कारण पनि कांग्रेसले २५ हजार मत ल्याएको थियो ।
त्यसमा पनि अहिलेको गठबन्धन र जोशी यसपटक उम्मेदवार नबन्ने भएकाले उनको पक्षको मत गोविन्द भट्टराईले नै पाउने अवस्था छ । किनभने कांग्रेसले जोशीमाथि गरेको कारबाही आइतबार नै फुकुवा गरिसकेकाले अब उनी कांग्रेसका पूर्वसहमहामन्त्रीको हैसियतमा रहने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।