काठमाडौं - नेपाली कांग्रेसबाट मन्त्री कसलाई बनाउने भन्ने निर्णय गर्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिइएको छ ।
बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री छान्ने जिम्मा सभापति देउवालाई दिएको हो । कांग्रेसले उपप्रधानमन्त्रीसहित आठ मन्त्रालय पाउने भएको छ ।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, प्रवक्ता डा.प्रकाशशरण महत, सहमहामन्त्री किशोरसिंह राठोर, केन्द्रीय सदस्यहरू एनपी साउद, सीता गुरुङ, रमेश रिजाल, डिकबहादुर लिम्बू मन्त्री बन्ने सम्भावना छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुन गइरहेको चितवन २ र तनहुँ २ मा उपनिर्वाचनका उम्मेदवार टुंगो लगाएको थियो ।
जसअनुसार तनहुँ २ मा गोविन्द भट्टराई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको छ । बारा २ मा भने चैत १९ गते बस्ने केन्द्रीय समिति बैठकले टुंगो लगाउन प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिएका छन् ।
कांग्रेसबाट मन्त्री बन्ने नाम टुंगो लगाउन पार्टीका शीर्ष नेताहरूको बैठक देउवा निवास धुम्बाराहीमा बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
बुधबार बसेको आठदलीय गठबन्धन बैठकले बिहीबार सरकारलाई पूर्णता दिने निर्णय गरेको थियो । जसअनुसार आज सबै दलले आ–आफ्नो दलबाट मन्त्री हुनेको नाम छनोट गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।