काठमाडौं- संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुमध्ये अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपा, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले राष्ट्रपतिमा कसलाई भोट हाल्ने भन्ने निर्णय गरिसकेका छैनन । राष्ट्रपति निर्वाचनबारे के गर्ने भन्ने निर्णय लिन संसदको पाँचौं शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दै छ । दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुने छ ।
रास्वपाले बिहीबार मात्र निर्णय गर्ने भएको छ । सोमबार राति १२ बजेसम्म राष्ट्रपति निर्वाचनका लागि रामचन्द्र पौडेल वा सुवासचन्द्र नेम्वाङ कसलाई मत दिने भनेर निर्णय नगरेकाले अब आचार संहिता लागू भइसकेकोले निर्णय गर्न बाधा हुने भएको छ। राष्ट्रपति निर्वाचनका लागि गत फागुन १७ गतेबाटै निर्वाचन आचारसंहिता लागु भएकाले कुनै उम्मेदवारको पक्षमा खुल्न भने पाइने छैन । यी दलहरुमध्ये केही पहिलेको गठबन्धनमा भएको र अहिले स्वतन्त्र भएकाले पनि निर्णय गर्न नसकेका हुन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता लागु भइसकेकाले राजनीतिक दलले पक्षधरता देखाउन नपाउने बताएका छन । त्यसैले आज राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि निर्णय लिन समस्या हुने देखिएको छ । यही समस्या देखेर होला रास्वपाले भोलि मतदानका बेला मात्र निर्णय गर्ने भएको छ । बिहीबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म राष्ट्रपतिको निर्वाचनका लागि मतदानको समय तोकिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।