काठमाडौं- नेपालले बिहीबार तेस्रो राष्ट्रपति पाउँदैछ । सात वर्षे कार्यकाल पूरा गरेर राष्ट्रपति विद्यादेवी भण्डारी फागुन २९ गते बिदा हुँदैछिन् । राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा छन् । आठदलीय गठबन्धनको मत क्रस नभए पौडेल राष्ट्रपति बन्ने निश्चित छ ।
राष्ट्रपति निर्वाचनबारे के गर्ने भन्ने निर्णय लिन संसदको पाँचौं शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दै छ । दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुने छ । संघीय संसदमा राप्रपाका १४ र प्रदेश सभामा २८ सांसद छन् । राष्ट्रपति निर्वाचनमा उसको कूल मतभार दुई हजार ४५० छ । अहिलेसम्म राप्रपाका नेताहरु पौडेल र नेम्वाङमध्ये कतै खुलेका छैनन् ।
राप्रपामा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने आवाज उठेको छ । तटस्थ बस्नुपर्छ भन्ने पक्षमा ज्ञानेन्द्र शाहीलगायतका नेताहरु छन् । पार्टीले राजतन्त्रको एजेन्डा बोकेर हिँडेकाले निर्वाचनमा तठस्थ बस्नुपर्ने उनको धारणा छ । उनलाई पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको पनि साथ छ । तर मिश्र सांसद छैनन् । पार्टीले दुईमध्ये कुनै एक उम्मेदवारलाई भोट हाल्ने निर्णय गरेमा शाहीले के गर्लान् ? सर्वत्र चासो छ ।
यद्यपि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु भने कुनै एक उम्मेदवारलाई मत दिनुपर्छ भन्ने पक्षमा छन् । राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।