काठमाडौं - राष्ट्रपति निर्वाचन सकिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णयमा पुगेका छन् । अहिले नै सरकार विस्तार गर्न नेपाली कांग्रेसले नमानेकाले राष्ट्रपति निर्वाचनसम्म कुर्ने निर्णयमा प्रचण्ड पुगेका हुन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकार छाडेपछि अहिले प्रचण्डले १८ वटा मन्त्रालयको कार्यभार आफैंले सम्हालेका छन् ।
लामो समयसम्म एक्लैले सबै मन्त्रालयको जिम्मेवारी सम्हाल्दा डेलिभरी दिन नसक्ने भन्दै प्रधानमन्त्री तत्काल सरकार विस्तार गर्नुपर्ने पक्षमा रहे पनि गठबन्धनमा भागबन्डाको छलफलसमेत नभएकाले मन्त्रिपरिषद् विस्तार एक साता पछि हुने भएको हो ।
अहिले सरकारमा पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा कांग्रेसमा नेताको खडेरी लागेको छ । पुराना नेताहरु सबै आफैंले पार्टीको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरिरहेका छन् । तर सभापति शेरबहादुर देउवाले अझै कसलाई पठाउने भनेर निर्णयमा पुगेका छैनन् । देउवा पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको नेतृत्व दिएर सरकारमा पठाउन चाहन्थे । तर खड्काले सात वर्षअघि नै आफू मन्त्री नबन्ने घोषणा गरिसकेका छन् । उनी पाए प्रधानमन्त्री बन्ने, तर मन्त्री नखाने आफ्नो विचारमा अडिग छन् ।
महामन्त्री गगन थापा पनि सरकारमा नजाने मनस्थितिमा छन् । उनले संसदीय दलको नेताको निर्वाचनकै बेला यो कार्यकालभरि आफू मन्त्री नबन्ने घोषणा गरेका थिए । अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि तत्काल सरकारमा जान अनिच्छुक देखिएका छन् । त्यसैले खड्का, थापा र शर्मा तीनैजना सरकारमा नजाने भएपछि देउवालाई संकट परेको हो । पार्टी पदाधिकारीमध्ये उपसभापति धनराज गुरुङसँग राजकीय सत्ताको अनुभव छैन । त्यसैले पदाधिकारीमध्ये कोही पनि सरकारमा जाने अवस्था नदेखिएको हो ।
पार्टीको नेतृत्व गर्दै सरकारमा जान नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि, प्रकाशशरण महत, एनपी साउदलगायत इच्छुक देखिएका छन् । कांग्रेसले सांसद संख्याका आधारमा बढीमा १० मन्त्रालय पाउने बताइएको छ । त्यसैले अहिले पार्टी सभापति सरकारमा कसलाई पठाउने भन्नेमा आन्तरिक परामर्शमा जुटेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।