काठमाडौं- आफूलाई अन्य दलभन्दा भिन्न भनेर प्रचार गर्दै राजनीतिमा हामफालेका रवि लामिछाने अहिले सांसद पदका लागि ढोक्सा थाप्नुपर्ने अवस्थामा आइपुगेका छन् । आफ्नो सानो त्रुटिका कारण भएको सांसद पद र गृहमन्त्री गुमाउन पुगेका लामिछाने दोहोरो राहदानी प्रकरणमा कारबाहीबाट बच्न सरकारलाई दिएको समर्थन कायमै राखेर ढोक्सा थापेका छन् ।
यदि दोहोरो राहदानी कसुरमा प्रहरीले अनुसन्धान अघि नबढाएमा रविले वैशाख १० गते हुने चितवन २ को उपनिर्वाचनमा उम्मेदवार बन्न पाउने छन् । प्रहरीले अनुसन्धान अघि बढाएमा र अदालतमा मुद्दा परेमा रवि उम्मेदवार दिनबाट समेत वञ्चित हुनेछन् । दोहोरो राहदानी कसुर फौजदारी मुद्दा भएकाले यो मुद्दा प्रमाणित भएमा जेल र जरिवाना दुवै सजाय हुनेछ । राहदानी कसुरमा सजाय पाएको व्यक्ति सांसद बन्नयोग्य हुँदैन । त्यही भएर रवि लामिछानेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेर ढोक्सा थापेको विश्लेषण हुन थालेको छ ।
रास्वपासँगै सरकारमा रहेका एमाले र राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारबाट समेत फिर्ता भइसकेका छन् । तर रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन दिएर बसेको छ । अहिले रास्वपाका अध्यक्ष रवि लामिछाने प्रधानमन्त्री प्रचण्डसँग निरन्तर संवादमा रहेका छन् ।
सोमबार बसेको रास्वपाको बैठकमा लामिछानेले प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन र राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई सघाउन आग्रह गरेको ब्रिफिङ गरेका थिए । सोही कारण रास्वपाले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवार पौडेललाई भोट हाल्ने र सरकारमा सहभागी हुने आकलन गर्न थालिएको छ ।
यसअघिको गठबन्धमा रहेको रास्वपा अहिले बाहिर निस्किएको अनुमान गर्न थालिएको छ । गृहमन्त्री हुँदा हरेक दिन केपी ओली भेट्न बालकोट पुग्ने रविको ध्यान अहिले खुमलटारतिर पुगेको छ । वैशाख १० गते हुने उपनिर्वाचनमा जितेर आए राम्रो मन्त्रालय लिने रविको अपेक्षा रहेको रास्वपाका एक नेताले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।