काठमाडौं- गृह मन्त्रालयको लफडामा परेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बचेखुचेको छवि पनि ध्वस्त पार्न उद्यत देखिएका छन् । नागरिकता विवादमा सर्वोच्च अदालतले सांसदको पद खारेर भएपछि उनी अहिले सर्वसाधारण मात्र हुन् । तर उनले ६ महिने मन्त्री पाउन ठूलै लफडा निकालेका छन् । त्यसका लागि गृहमन्त्रीमा नियुक्त गरिनुपर्ने भन्दै रविले लफडा निकालेका छन् ।
बिहीबार दिनभर रवि नेतृत्वको पार्टी सरकारबाट बाहिरिने भन्ने विषयले राजनीति तताइरह्यो । तर, साँझमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको फोनले रविले यो जाडोमा पनि चिसै पानीले नुहाएका छन् । अर्थात् अझै दुई दिन रास्वपाले कुर्ने भएको छ । यदि प्रचण्ड र ओलीकै फोनमा म अभिमन्यु होइन भन्दै धम्की दिने रविले किन बोल्ड निर्णय गर्न सकेनन् ? भन्दै उनको आलोचना भइरहेको छ ।
राजनीतिमा नेताले बोलेको पूरा गर्नुपर्छ । होइन भने नपुग्ने, गर्न नसक्ने घोषणा गर्नुहुँदैन । रविले बिहीबार केन्द्रीय समिति र संसदीय दलको बैठक एकैपटक बोलाएर सरकार छाड्ने निर्णय गर्न लागेका थिए । तर रास्वपामै दुई धार जन्मेपछि उनी बहादुरीपूर्वक पछि हट्न बाध्य भएको सबैले बुझेका छन् । अहिले सर्सती हेर्दा काठमाडौं ८ बाट प्रतिनिधिसभामा विजयी भएका विराजभक्त श्रेष्ठ आगामी दिनमा रविको बाटोको तगारो बन्ने निश्चित देखिएको छ । उनी बैठकमा कडा रूपमा प्रस्तुत भएपछि रविको नौ नाडी गलेको नेताहरु बताउँछन् ।
कतिसम्म भने आफूले गृह मन्त्रालय नपाए रवि पार्टी विभाजन गर्नसम्म लागिपरेको बुझिएको छ । त्यसका लागि केही सांसदलाई तयार पारेर राखिएको स्रोतले बतायो । तर आफ्नो निर्णय पार्टी र आफ्नै लागि प्रत्युत्पादक हुने देखेपछि रविको पारो ओर्लिएको छ । हिजो टेलिभिजनमा कराएर, अर्कालाई गाली गरेर लोकप्रियता कमाएका रवि अहिले जुन ढंगले अघि बढेका छन्, त्यो राम्रो संकेत भने होइन ।
प्रचण्ड र ओलीले पाँच दशकभन्दा बढी जीवन राजनीतिमा बिताइसकेका छन् । एउटा रविले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैमा प्रचण्ड नेतृत्वको सरकार ढल्ने पनि होइन । बरु उनकै पार्टीले आगामी निर्वाचनमा लज्जास्पद पराजय भोग्नुपर्ने सम्भावना धेरै छ । किनभने नेपालको राजनीति शुद्धीकरण गर्छु भनेर आएका रवि अहिले दिनहुँ बालकोट र बालुवाटार धाउन विवश छन् । गैरसांसद भइकन पनि मन्त्रीका लागि रोइकराई गरिरहेका छन् । यसले उनको निर्वाचन क्षेत्र चितवन २ का मतदाता लाजले भुतुक्कै भएका छन् । कम्तीमा पनि रविबाट सत्ताको यस्तो आशक्ति उनीहरूले कल्पनासमेत गरेका थिएनन् । त्यसैले अहिले रवि दिनहुँ बचेखुचेको छवि बिगार्न दौडमा किन लागेका होलान् भन्दै उनको आलोचना हुन थालेको छ ।
कांग्रेस नेता गुरुराज घिमिरेले समेत छानबिन चलिरहेको भन्दै पदप्रतिको आशक्ति नदेखाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सुझाव दिएका छन्। सामाजिक सञ्जालमा घिमिरेले नागरिकताको विवादपछि सांसद र मन्त्री पद गुमाएका रविलाई स्वच्छ छवि बनाउन आग्रह गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।