काठमाडौं- राजनीतिमा कहिले के हुन्छ भनेर भविष्यवाणी गर्न सकिन्न । पुस १० गतेसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए । तर सँगै गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको सहयोगमा प्रधानमन्त्री नियुक्त भए । सत्ताको केन्द्रमा रहेको कांग्रेस एकैपटक सडकमा आइपुग्यो ।
मंसिर ४ गतेसम्म देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको हाईहाई थियो । मतगणना सकिने बेलासम्म रास्वपाले सात सिट प्रत्यक्षमा र १३ सिट समानुपातिकमा गरेर २० सिट जित्यो । तर रास्वपालाई सरकारमा जाने म्यान्डेट थिएन । रास्वपाका सभापति रवि लामिछाने एक्कासि सरकारमा गए । उपप्रधान तथा गृहमन्त्री नियुक्त भए । सबैतिर उनको हाईहाई भयो । तर नागरिकता विवादमा उनको सांसद पद नै खारेज भयो ।
आफूले सानदार ढंगले जिताएर पठाएको जनप्रतिनिधिको पद दुई महिनामै खारेज होला, चितवन २ जनप्रतिनिधिविहीन होला भन्ने त्यहाँका मतदाताले कल्पनासम्म गरेका थिएनन् । तर, भइदियो त्यस्तै । सर्वोच्च अदालतले नागरिकता प्रकरणमा लामिछानेको सांसद पद खारेज गरेसँगै उनी अहिले सामान्य नागरिक बनेका छन् । उनी अहिले मतदातासमेत छैनन् । किनभने पुरानो नागरिकताका आधारमा मतदाता बनेका त्यो पनि खारेज भएको छ ।
संसद् सचिवालयले रवि लामिछाने सांसद नरहेको सूचना जारी गर्ने तयारी गरेको छ । सर्वोच्चले लामिछानेविरुद्धको मुद्दामा गत शुक्रबार सुनाएको फैसला आइतबार संसद् सचिवालयमा पठाएको छ । फैसलाअनुसार संसद् सचिवालयले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज भएको सूचना जारी गर्नेछ ।
प्रतिनिधिसभा नियमावलीको नियम २१२ बमोजिम सचिवालयले स्थान रिक्तताको विषयमा प्रतिनिधिसभा बैठकलाई जानकारी दिनुपर्ने वा बैठक चाल्रू नरहेको अवस्थामा सभामुखले त्यस्तो जानकारी सूचनापत्रमा प्रकाशन गराउनुपर्छ । प्रतिनिधिसभामा लामिछानेको स्थान रिक्त भएको जानकारी गराएपछि संसद् सचिवालययले मन्त्रिपरिषद् र निर्वाचन आयोगलाई पनि यो सूचना दिनुपर्नेछ, जसलाई नेपाल राजपत्रमा प्रकाशन गरिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।