काठमाडौं- सशस्त्र प्रहरी जवान थमन बिकको हत्या अभियोगमा फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले आज सभामुख निर्वाचनमा मत हाल्ने भएका छन् । अहिले पनि उनी निर्वाध संसद् आउजाउ गरिरहेका छन् । प्रहरीले पक्राउ गर्न सकेको छैन । केही दिनअघि गृहमन्त्री रवि लामिछानेले कोइरीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको भनिए पनि त्यो प्रचार मात्र भएको खुलेको छ । गृहमन्त्री लामिछानेको निजी सचिवालयमा रहेका एक सहयोगीले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई फोन गरेर कोइरीलाई पक्राउ गर्न भनेको, तर रविले नभनेको खुलेको छ ।
प्रहरीको फरार सूचीमा रहेकै बेला महोत्तरी–१ बाट निर्वाचित कोइरीले पुस ७ गते प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए । उनले पुस २६ मा संघीय संसद्मा गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका थिए । कोइरी मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् ।
२०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । उक्त घटनामा मुद्दा चलेपछि जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा कोइरीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । जनकपुर उच्च अदालतले ०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याएर कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दियो । त्यसयता उनी फरारको सूचीमा छन् । फरारकै सूचीमा रहेका कोइरीलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराई चुनाव जिताएका थिए । उनले माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेललाई पराजित गरेका थिए ।
प्रतिनिधिसभा सदस्यको शपथग्रहणकै दिन प्रहरी प्रधान कार्यालयले संसद् सचिवालयलाई पत्र लेखेर फरारको सूचीमा रहेका कोइरीलाई संसद्को कामकारबाहीमा संलग्न नगराई सहयोग गरिदिन आग्रह गरेको थियो । प्रहरीको पत्रपछि पनि कोइरी प्रधानमन्त्रीलाई विश्वासको मत दिन बैठकमा सहभागी भएका थिए । कतिसम्म भने गृहमन्त्री लामिछानेसँगै लाइनमा बसेर कोइरीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए ।
कोइरी बिहीबार सभामुखको निर्वाचनमा पनि सहभागी हुने बताइएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला कोइरी एमाले अध्यक्ष केपी ओलीको गाडीमा आएको प्रहरी उच्च स्रोतले बताएको छ । गृहमन्त्री लामिछानेको नागरिकता र राहदानी विवादमा सर्वोच्च अदालतमा रहेको मुद्दा फैसला नभएसम्म कोइरीलाई पक्राउ गर्न प्रहरी हच्किएको छ । सोही कारण अहिले गृहमन्त्री लामिछाने ओलीले बस भने बस, उठ भने उठको अवस्थामा छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।