काठमाडौं- आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ७२ जनाले ज्यान गुमाए । जसमा १५ जना विदेशी र बाँकी नेपाली छन् । आन्तरिकतर्फ अहिलेसम्मकै सबैभन्दा धेरै मानवीय क्षति भएको भन्दै सरकारले सोमबार शोक बिदा दिएको थियो । तर शोक बिदामा सातदलीय सत्तारुढ गठबन्धनका नेताहरु भने मन्त्रालय भागबन्डामा जुटे ।
सोमबार मध्यरातिसम्म प्रधानमन्त्री निवास बालुवाटारमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका नेताहरु मन्त्रालय भागबन्डामै व्यस्त रहे ।
देशले शोक मनाइरहेका बेला नेताहरु सत्ता र कुर्सीको छिनाझप्टीमा लागेको देखिएपछि जुन सरकार बने पनि नेपालीको भाग्यमा दुःख र कष्टबाहेक केही नहुने भन्दै आलोचना भइरहेको छ । सोमबार राति सकिएको बैठकमा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादीले प्रधानमन्त्रीबाहेक चार मन्त्री र एक राज्यमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री, राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाउने समझदारी बनेको छ ।
जसपालाई दुईवटा मन्त्रालय प्रस्ताव गरे पनि तीनवटा मन्त्रालयमा अडान राखेर अध्यक्ष उपेन्द्र यादव बाहिरिएका छन् । नागरिक उन्मुक्ति पार्टीले तत्काल सरकारमा नजाने निर्णय लिएको छ । मंगलबार बिहान गठबन्धनको पुनः बैठक बस्नेछ र आवश्यक परे परिमार्जनसहित मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो लगाइनेछ ।
बाँडफाँटअनुसार एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था र महिला मन्त्रालय लिने समझदारी छ । एमालेले यसअघि अर्थ मन्त्रालय लिइसकेको छ । त्यस्तै, माओवादीले प्रधानमन्त्रीबाहेक सञ्चार, संघीय मामिला र पर्यटन मन्त्रालय लिने समझदारी छ । माओवादीले भौतिक योजना मन्त्रालय लिइसकेको छ ।
रास्वपाले शिक्षा र श्रम मन्त्रालय पाएको छ । रास्वपाले गृह मन्त्रालयको जिम्मा लिइसकेको छ । राप्रपाले उपप्रधानमन्त्रीसहित ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय पाएको छ । जनमतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ । जसपा र नागरिक उन्मुक्तिका लागि वन, कानुन र खानेपानी मन्त्रालय छुट्याइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।