काठमाडौं - यतिबेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्ता गुमेको ‘सक’ मा धुम्बाराहीस्थित निवासबाट बाहिरिन सकेका छैनन् । आफूलाई भेट्न आउने कांग्रेसजन भेट गर्दै उनको दिन बित्ने गरेको छ ।
पुस १० गतेसम्म बालुवाटारमा सत्ता शक्ति हातमा लिएर बसेका देउवाले यति चाँडै आफू सडकमा पुग्नुपर्ने सोचेका पनि थिएनन् । तर, आफ्नो सल्लाहकार टिम धुपौरे, चाकडीबाज गर्ने मात्र राख्दा सही सूचना पाएनन् । जसकारण देशकै ठूलो पार्टी बनेर पनि कांग्रेस सत्ताबाट बाहिरिएको छ ।
पाँच वर्षअघिको जस्तो अवस्थामा नेपाली कांग्रेस अहिले छैन । त्यसबेला स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सबैतिर कांग्रेस दोस्रो, तेस्रो दल बनेको थियो । राष्ट्रिय सभामा त कांग्रेस झन्डै शून्यको अवस्थामा पुगेको थियो ।
तर, हालै सम्पन्न निर्वाचनबाट कांग्रेस सबैतिर पहिलो वा दोस्रो दल बनेको छ । स्थानीय तहको निर्वाचनमा अन्य दलभन्दा एक सय बढी तह जितेको छ । प्रदेश सभामा पनि कांग्रेसका धेरै सांसद छन् । प्रतिनिधिसभामा ८९ सिट जित्दै पहिलो बनेको छ ।
यति ठूलो उपलब्धि कांग्रेसका लागि हात परे पनि सभापति देउवा नेपाली जनतालाई धन्यवाद दिन चुके । सबैभन्दा पहिले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएको र कांग्रेसलाई ठूलो दल बनाएकामा देउवाले जनतालाई दिनुपथ्र्यो ।
तर उनले त्यसबारे केही सोचेनन् मात्र होइन, उनको सल्लाहका र निजी सचिवालयले पनि ध्यान दिएन । देउवा १८ महिना सरकारमा रहे । सरकारमा रहेर संविधान कार्यान्वयन गर्न, राज्यका तीनै निकायलाई शक्ति पृथकीकरणको सिद्धान्तअनुसार सञ्चालन गर्न, विकासका आयोजना अघि बढाउन खेलेको भूमिका र सरकारका उपलब्धिबारे जनतालाई जानकारीसमेत गराउन आवश्यक ठानेनन् । यतिसम्म निकम्मा सरकार प्रमुख अहिलेसम्म नेपालमा थिएनन् । यो सबै गर्ने भनेको प्रधानमन्त्रीको सचिवालय टिमले हो ।
कुन बेला के सल्लाह दिने भन्ने उनीहरुले थाहा पाउनुपथ्र्यो । तर, देउवाले यस्ता हली र दास मनोवृत्ति भएका सल्लाहका राखे कि उनीहरु खुलेर अरुसँग बोल्नै चाहँदैनथे । कतिसम्म भने प्रधानमन्त्रीले के गर्दैछन् ? कहाँ जाँदैछन् ? कोसँग भेटवार्ता गर्दैछन् ? भन्ने भेउसमेत मिडियाले थाहा पाउँदैनथे ।
प्रेस संयोजक राखिएका गोविन्द परियार त पत्रकारको फोनसमेत उठाउँदैनथे । प्रधानमन्त्रीको गतिविधिबारे जानकारी दिन आवश्यक ठान्दैनथे । सभापति देउवा आफू फोन बोक्दैनन् । उनले कुरा गर्ने भनेको भतिज भानु देउवाको फोनमा हो । भानुले आफ्नो स्वार्थअनुसारका फोनमात्र दिन्थे ।
उनी पनि फोन नउठाउने सचिवालयका सदस्य हुन् । देउवाका आर्थिक, राजनीतिक, परराष्ट्र सल्लाहकार कोही पनि गतिला थिएनन् । यही कारण पनि देउवाको समर्थनभन्दा बढी आलोचनाका समाचार मिडियामा आएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।