काठमाडौं– नेकपा माओवादी केन्द्रमा समानुपातिकबाट पुरुषतर्फ हितराज पाण्डेलाई प्रतिनिधि सभामा पठाउन सहमति जुटे पनि अर्को पुरुषका बारेमा सहमति जुट्न सकेन ।
प्रत्यक्षतर्फ १८ सिट पाएको माओवादीले समानुपातिकतर्फ १४ सिट पाएको छ । माओवादीले त्यसमध्येमा १२ जना महिला पठाउनै पर्छ भने बाँकी २ जनामा पुरुष पनि पठाउन सक्छ । माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले भोलि आयोगमा सूची बुझाउने तयारी भइरहेको बताए ।
माओवादीले आदिवासी जनजातितर्फ ४, खस आर्यतर्फ ४, दलित २, मधेशी २, थारु १ र मुस्लिमतर्फबाट १ जना पठाउनुपर्छ ।
माओवादीका एक पदाधिकारीका अनुसार पदाधिकारीको अनौपचारिक बैठकमा २ पुरुषमध्ये खसआर्यबाट हितराज पाण्डेलाई पठाउनेबारे सहमति जुटेको छ । पाण्डे अघिल्लो पटक पनि सानुपातिक सूचीमा थिए, अन्तिममा उनलाई नपठाएर अपाङ्गता भएका क्षेत्रबाट चुडामणि खड्कालाई पठाइएको थियो ।
पाण्डे यसपाली गोरखाबाट प्रत्यक्ष चुनाव लड्ने आकांक्षामा थिए । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा गएपछि उनलाई समानुपातिक सूचीमा राखिएको थियो ।
दोस्रो पुरुषका नाममा भने माओवादीमा सहमति बन्न सकेको छैन । माओवादीले आयोगमा पठाएको बन्द सूचीमा पुरुषतर्फ आदिवासी जनजातिमा अजम्बर राई, खस आर्यमा हितराज पाण्डे, थारूमा सुनिलकुमार भगत, दलितमा रणेन्द्र बराली, मधेसीमा रामेश्वर राय यादव र मुस्लिममा हकिकुल्लाह खाँ पहिलो नम्बरमा छन् ।
पाण्डेका नामा सहमति जुट्दा थप एकजना पुरुष माथिका कुन कलस्टरबाट पठाउने भन्नेमा सहमति जुट्न सकेको छैन । पदाधिकारी बैठकमा सहमति नभएपछि यसबारे निर्णय गर्ने जिम्मेवारी प्रचण्डले पाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।