काठमाडौं – समृद्ध नेपाल बनाउने गफ लगाउँदै केपी शर्मा ओली र माधवकुमार नेपालसँग मिलेर चुनाव लडेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्ततः एक्लै परेका छन् ।
सर्वाेच्च अदालतले नेकपा एकता बदर गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि एक्लिएका प्रचण्ड फेरि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको शरणमा पुगेका छन् ।
मंगलबार पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिनेबित्तिकै अध्यक्ष प्रचण्ड हतारहतार सभापति देउवालाई भेट्न बूढानिलकण्ठ पुगेका छन् ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकेर प्रचण्ड सिधै देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अध्यक्ष प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न गएका जानकारी दिए ।
माओवादीको स्थायी कमिटी बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग नयाँ सरकार बनाउनेबारे छलफल गर्ने निर्णय गरेको छ । कांग्रेस, माओवादी, जसपा गठबन्धनले नयाँ सरकार बनाउन सक्ने देखिएको छ ।
तर प्रधानमन्त्री केपी शर्मा ओलीले जसपासँग पहिल्यै कुरा अगाडि बढाएर वार्ता गर्न कार्यदल बनाइसकेका छन् । संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले र सबैभन्दा सानो दल जनता समाजवादी पार्टी (जसपा) मिलेर नयाँ सरकार बनाउन ५ सदस्यीय संयुक्त कार्यदल बनाएको छ ।
मंगलबार बसेको जसपा संसदीय दलको बैठकमा अध्यक्ष महन्थ ठाकुरले वार्ता टोली गठन भएर काम गरिरहेको खुलासा गरे । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको विषयमा बैठकमा प्रश्न उठेपछि अध्यक्ष ठाकुरले वार्ता टोली गठन भएको खुलासा गरेका हुन् । वार्ता टोलीले गोप्य रूपमा काम गरिरहेको जनाइएको छ ।
बैठकमा सहभागी जसपाका एक सांसदका अनुसार वार्ता टोलीमा एमालेका तर्फबाट सुवास नेम्वाङ, विष्णु रिमाल र राजन भट्टराई रहेका छन् भने पूर्व राजपाको हैसियतमा सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण वार्ता गरिरहेका छन् ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न जसपा संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ । जसपाभित्र केही नेताहरू नेपाली कांग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउनुपर्ने पक्षमा रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।