काठमाडौं - महाभियोग लागेर निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सर्वोच्च अदालत फर्किने दुईवटा प्रयास असफल भएको छ ।
आजका दिनसम्म पनि कुनै प्रस्तावमा हस्ताक्षरसमेत गर्न नमान्ने संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले संसद् नभएका बेला जबरालाई सुटुक्कै क्लिन चिट दिएका थिए । सोही पत्रका आधारमा जबराले आफू सर्वोच्च फर्कन लागेको मिडियालाई सूचना दिएपछि मात्र यसबारे हल्लाखल्ला मच्चिएको हो ।
तर, स्वयं सर्वोच्च अदालत र कानुन व्यवसायीको विरोधका कारण जबराको प्रयास सफल हुन सकेको छैन । जबरामाथि गत वर्षको १ फागुनमा महाभियोग लागेपछि निलम्बनमा परेका थिए । न्यायपरिषद्को अभिलेखअनुसार उनी २८ मंसिरमा ६५ वर्ष पुग्छन् । त्यसको अघिल्लो दिन २७ मंसिरमा उनले अवकाश पाउँदै छन् ।
एक दिन भए पनि पुनर्वहाली हुन सके आफूमाथि लागेका आरोप गलत प्रमाणित गर्न सकिने अपेक्षासहित जबराले सर्वोच्च फर्किने हरेक उपाय अपनाउन खोजेका छन् । यसअघि पनि उनले यस्तो असफल प्रयास गरेका थिए । जसकारण सरकारले उनको सुरक्षामा खटाएका सबै प्रहरीलाई फिर्ता बोलाएको थियो ।
महाभियोगजस्तो गम्भीर विषयमा निलम्बित प्रधानन्यायाधीश जबरालाई ‘क्लिन चिट’ दिने सम्बन्धमा संसद् सचिवालयका महासचिव गौतमले संसद्का कानुनी सल्लाहकार एवं कानुन महाशाखा प्रमुख लक्ष्मीप्रसाद गौतमसँग समेत छलफलसमेत नगरेको खुलेको छ ।
मंगलबार जबराले भेटेपछि गौतमले बुधबार सुटुक्क क्लिन चिटको पत्र तयार पा्रेका थिए । त्यसका लागि उनले कोहीसँग परामर्श र रायसुझावसमेत लिन नखोजेपछि गौतम कतैबाट परिचालित भएको रहस्य खुलेको छ ।
नयाँ संसद् नआउँदै एमालेसँगको ‘मिलेमतो’मा महासचिव गौतमले जबराविरुद्धको महाभियोग निष्क्रिय भएको पत्र सर्वोच्च अदालत पठाएको स्रोतको दाबी छ । किनभने सबैले विरोध गर्दा एमालेले संसद् सचिवालयको पत्रलाई जायज भएको प्रतिक्रिया दिनुले जबराले एमालेसँगको सेटिङमै यस्तो प्रयत्न गरेको सबैको निष्कर्ष छ ।
एकीकृत समाजवादीले आफ्नो पार्टीको गठन खारेज गर्ने र सो पार्टीबाट निर्वाचित सांसदलाई स्वतन्त्रको संज्ञा दिन तथा केपी ओली प्रधानमन्त्री हुँदा गरेका संवैधानिक निकायका नियुक्तिविरुद्ध परेको रिट खारेज गर्न एमालेले संसद् सचिवालयका महासचिव गौतमलाई ‘गोटी’ बनाएको आरोप लगाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।